INSEC Online

📅 २०८३ जेष्ठ २१

गिरफ्तारीमा परेका विद्यार्थी नेता शाहीको स्थिति सार्वजनिक गर्न माग

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी नेता प्रेमबहादुर शाहीको स्थिति सार्वजनिक गर्न मानव अधिकार संस्थाहरूले माग गरेका छन् ।

जिल्ला कारागार जाजरकोटमा थुनामा रहेका शाहीलाई उच्च अदालत सुर्खेतले यही मङ्सिर २२ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशले रिहा गरे लगत्तै पुनः गिरफ्तारीमा परेका शाहीको अवस्था अज्ञात रहेको भन्दै इन्सेकको पहलमा नेपाल मानव अधिकार सङ्गठन, एम्नेष्टी इन्टरनेशनल, असलशासन क्लब, नागरिक समाजलगायतका संस्थाले स्थिति सार्वजनिक गर्न माग गरेका हुन् ।

शाहीका परिवारले समेत स्थिति सार्वजनिक गर्नको लागि पहल गरिदिन इन्सेक जाजरकोट प्रतिनिधि  दिनेश श्रेष्ठसँग आग्रह गरेका थिए ।

त्यसैगरी बाँकेको कोहलपुरबाट गिरफ्तारीमा परेका नेकपाका जिल्ला इञ्चार्ज प्रेमप्रकाश वलीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा अभद्र व्यवहार गरिएकोप्रति पनि अधिकारकर्मीले ध्यानाकर्षण भएको जनाएका छन् ।

उहाँलाई प्रहरीले परिवारसँग भेट्न र सञ्चार सम्पर्क गर्न नदिएको, मानसिक यातना दिएको, ओढ्ने कपडा नदिएको र जिल्ला अदालत लैजाँदा समेत अमानवीय तवरले हत्कडी लगाएको भन्दै यस्ता कार्य नदोहो¥याउन आग्रह गरिएको छ ।

आधारभूत मानव अधिकारको हनन् भएको भन्दै भोक हडताल बस्नुभएका वलीलाई जिल्ला न्यायाधीशले अनसन तोड्न आग्रह गरेपछि अनसन तोड्नुभएको थियो ।

गत बिहीवार पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएका वलीलाई भेट्न जिल्लास्थित मानव अधिकार रक्षकहरू शुक्रबार कारागार पुगेका थिए ।

वलीलाई भेटेर हिरासतमा उहाँलाई प्रहरीले गरेको अभद्र व्यवहारबारे जानकारी लिएको नेपाल मानव अधिकार सङ्गठन जाजरकोटका अध्यक्ष केदारबहादुर शाहले बताउनुभयो ।

‘जिल्ला अदालतबाट समेत वलीमाथि गरिएको अभद्र व्यवहारप्रति स्थानीय प्रहरी प्रशासनलाई स्पष्टिकरण सोधिएको तथ्य खुल्न गएकोले उपरोक्त कार्यहरू गैरकानुनी र गैरन्यायिक भएको भन्दै आगामी दिनमा यस्ता कार्य कसैप्रति पनि नगर्न माग गर्दछौँ ।’–अधिकारकर्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो