कुशे गाउँपालिका–वडा नं ६ को वडा कार्यालय सिमलगाउँमा मङ्सिर २५ गते राति १२ बजेतिरको समयमा अज्ञात पक्षले वडा कार्यालयमा रहेका सम्पुर्ण सामग्रीहरूमा आगजनी गरेको वडा अध्यक्ष अमरबहादुर शाहीले जानकारी दिनुभयो ।
वडा कार्यालयमा रहेको क्म्प्युटर एक थान, प्रिन्टर एक थान, इन्भर्टर एक थान, ४० एम्पियरका तीन ओटा सोलार ब्याट्री, तीन ओटा कुर्सी, तीन ओटा टेबुल, दुई ओटा स्टिल दराजलगायत कार्यालयमा रहेका सम्पुर्ण कागजातहरू कार्यालयको कोठाबाट बाहिर निकाली मट्टीतेल छर्केर आगजनी गरिदिएको वडा अध्यक्ष शाहीले बताउनु भयो ।
वडा कार्यालयको ढोकामा लगाएको ताला ह्याक्सो ब्लेडले काटिएको छ । वडा कार्यालयका सम्पुर्ण जिन्सी सामग्री तथा कागजपत्रहरू पुर्ण रूपमा ध्वस्त भएको समेत जनाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको घटना स्थलमा प्रहरी टोली खटिएको र घटना घटाउने व्यक्तिहरूको खोजतलास समेत भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।