‘समानाताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराको साथ मङ्सिर २४ गते अन्तरक्रियात्मक कार्यक्रम गरी समापन गरिएको छ ।
विदुर नगरपालिका, महिला तथा बालबालिका संरक्षण सञ्जाल, इन्सेकलगायत संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रदेश ३ की उपसभामुम राधिका तामाङले लैङ्गिक हिंसा न्युनिकरणको लागि प्रदेश सरकारले रचनात्मक क्रियाकलाप गर्दै आएको जानकारी दिँदै यस्ता सचेतना कार्यक्रम र अन्तरक्रियाहरू १६ दिनमात्र नभएर अन्य समयमा निरन्तर गरेमा मात्रसमाजले प्रतिफल प्राप्त गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद हिरानाथ खतिवडाले हिंसाका गतिविधि गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सबै पक्षको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जिल्लाको ८८ ओटै वडामा लैङ्गिक हिंसा विरूद्धको अभियान सञ्चालन गर्नु पर्ने बताए ।
अन्तरपार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष बिन्दा ढुङ्गानाले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान समबन्धी कार्यपत्र प्रस्तुत गर्दै नुवाकोटमा लैङ्गिक हिंसाको अवस्था, हिंसा न्युनिकरणमा सरकारी तथा गैरसरकारी निकायबाट भएका पहलहरू, अब गर्नुपर्ने कार्यहरूको बारेमा जानकारी दिइन् ।
मङ्सिर ९ गतेबाट जिल्लामा सञ्चालन भएको अभियानको क्रममा दुप्चेश्वर गाउँपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिकाले विभिन्न कार्यक्रम गरेका थिए भने विदुर नगरपालिकाले सबै वडाहरूमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम चलाएको थियो ।



