INSEC Online

📅 २०८३ जेष्ठ २१

२० वर्षदेखि पहल गर्दा समेत अपाङ्गता परिचय पत्र नपाएको गुनासो

बगनासकाली गाउँपालिका–६ यम्घा दर्पुकबोटेका ५६ वर्षीय बलिराज बोटेले २० वर्षदेखि पहल गर्दा पनि अपाङ्गता परिचयपत्र पाउन नसकेको गुनासो गर्नु भएको छ ।
२० वर्षअघि बलिराजले गाउँमै अर्काको भारी बोकेर परिवारको गुजारा चलाउनुभएको थियो । त्यसैबेला उहाँको गोडामा काँडा बिझ्यो ।
काँडा निकालेर फाल्नुभयो तर गोडाको घाउ पाक्यो । पछि युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा थप घाउ बल्झन सक्ने भन्दै उहाँको दाइने गोडाको पैताला काटियो ।
त्यसपछि बलिराजको दैनिकी कष्टकर रूपमा बित्दै आएको छ । बलिराज अहिले सहज रुपमा हिँड्डुल गर्न सक्नुहुन्न ।
यताउति हिँड्डुल गर्दा पनि लत्रेरै यात्रा गर्नुपर्छ । उहाँले अहिलेसम्म अपाङ्गता परिचय पत्र समेत पाउन सक्नु भएको छैन ।
बलिराजले गिट्टी कुटेर दैनिकी गुजार्दै आएको बताउनुभयो । “काम गरेर खाने मान्छेको गोडा नै काटिएपछि साहै्र गाह्रो हुने रहेछ । आजकल यो गोडा चस्केर साह्रै अप्ठेरो भएको छ ।”– बलिराजले भन्नुभयो ।
आफू हिँडेर अन्यत्र जान नसक्ने र गाउँमा जिल्लाका मान्छेहरू आउँदा, वडा र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी आउँदा समेत परिचय पत्र बनाइदिन अनुरोध गरेको तर कसैले पनि सहयोग नगरेको उहाँले बताउनुभयो ।
स्थानीय युवा सुन्दर बोटेले बलिराजले गोडा काटिएपछि कष्टकर दैनिकी बिताउँदै आएको र उहाँका लागि सरकारको तर्फबाट नियमित भत्ता आउने गरि अपाङ्गता परिचयपत्र बनाइदिनुपर्ने बताउनुभयो ।
वडा अध्यक्ष लक्ष्मी अधिकारीले बलिराजलाई अपाङ्गता परिचय पत्र बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
अब केही दिनमा वडा कार्यालयमा गाउँपालिकाको परिचयपत्र वितरण शिविर जाने र त्यही शिविरमा उहाँको परिचय पत्र बनाउन ल्याउने उहाँले बताउनु भयो ।

अन्य

भिडियो