सोरु गाउँपालिकाको सोरुकोटमा रहेको इलाका प्रशासन कार्यालय चार वर्ष देखि दुई जना कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ ।
कर्मचारी नहुँदा इलाका प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकता, राहदानी, नाबालक प्रमाणितलगायतका सेवा लिन स्थानीयलाई समस्या रहेको छ ।
०६४ असारमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा एक जना अधिकृत सहित अन्य ६ जना कर्मचारीको दरबन्दी रहेको भएपनि गृह मन्त्रालयले कर्मचारी व्यस्थापन नगर्दा चार वर्षदेखि कार्यालय सहयोगीको भरमा चलिरहेको छ ।
जिल्लाका साविकको २४ ओटा गाविसमध्ये सोरु गाउँपालिकामा पर्ने सात गाविसका लागि ०६४ असार महिनामा पहिलो पटक इलाका प्रशासन कार्यालय स्थापन गरिएको थियो ।
इलाका प्रशासन कार्यालयमा एक जना अधिकृत सहित दुई नायब सुब्बा, एक कम्प्युटर अपरेटर, एक सहायक लेखपाल र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ ।
स्थापना भएको ६ महिनासम्म एकजना अधिकृत, एकजना नायब सुब्बा र एकजना सहलेखपालबाट सेवा सञ्चालन भएको थियो ।
हाल दरबन्दीका कर्मचारी सबै काज र सरूवा गरेर अन्यत्र जिल्लामा पुगेपछि अहिले कार्यालय सहयोगी जनक कार्की र गोरख मल्लको भरमा कार्यालय सञ्चालनमा रहेको छ ।
कर्मचारी नभएपछि सेवाग्राहीले इलाका प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवा लिन सदरमुकाम गमगढीमा रहेको जिल्ला प्रशासन कार्यालय पुग्नु पर्ने बाध्यता रहेको सोरु गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमले जानकारी दिनुभयो ।
इलाका प्रशासन कार्यालय स्थापना हुनुभन्दा पहिला स्थानीयलाई नागरिकता सहित अन्य सेवा लिन एक दिनदेखि दुई दिन पैदल हिँडेर सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता रहेको थियो ।
०६४ असार महिनामा सोरुकोटमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयबासीले ६ महिनासम्म मात्र इलाका प्रशासन कार्यालय, सोरुकोटबाट सेवा लिएको उपाध्यक्ष बमले बताउनुभयो ।
कर्मचारीको ब्यवस्था नभएपछि ६ महिनासम्म सेवा लिएका स्थानीयले हाल पुरानै दुखः खेपिरहेको सोरु गाँउपालिका–७ का छक्क बिष्टले बताउनुभयो ।
दरबन्दी अनुसारका कर्मचारीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, मुगुले १५ दिनअघि लोक सेवा आयोगमा पत्राचार गरेको जनाएको छ ।
कर्मचारी व्यवस्थापनका लागि गृह मन्त्रालयसँग बेलाबेला जानकारी गराएको भएपनि हालसम्म आवश्यक कर्मचारी नहुँदा बाध्यताले इलाका प्रशासन कार्यालयबाट सेवा सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो ।
बिहान १० बजेदेखि ४ बजेसम्म कार्यालय खोल्ने बाहेक अन्य कुनै काम नभएको बताउँदै इलाका प्रशासन कार्यालय, सोरुकोटका कार्यालय सहयोगी गोरख मल्लले यस आर्थिक वर्षको तलब समेत नपाएको बताउनुभयो ।
कर्मचारी व्यवस्थापन गर्न आग्रह गर्दै आफूले पटकपटक प्रयास गरेको कर्णाली प्रदेशका सांसद चन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।