INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता

७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा सिन्धुलीमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

इन्सेकको सहयोगमा गठित जिल्लास्तरीय मानव अधिकार सञ्जालको आयोजना तथा ओरेक नेपाल सिन्धुलीको साझेदारीमा सिन्धुलीमाढीमा आयोजित ‘मानव अधिकार संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश ३ का सांसद राजन दाहालले मानव अधिकार समाजवादमा मात्र संरक्षण हुने बताउनुभएको छ ।

उहाँले समाजमा अज्ञानता, अभाव र विभेद हटेर समानता र स्वःअनुशासन कायम भएपछि मात्र मानव अधिकार सुरक्षित हुने बताउनुभयो ।

साम्यवादमा मात्र मानव अधिकार उल्लङ्घन नहुने र पूर्ण संरक्षण समेत हुन नसक्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन शर्माले मानवका अहरणीय र नैसर्गिक अधिकारहरू नेपालको संविधानमा मौलिक हकका रूपमा सुनिश्चित भएको बताए । नेपाल सरकार मानव अधिकारप्रति संवेदनशील र प्रगतिशील रहेको शर्माको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले मानव अधिकारको अवस्थाका बारेमा इन्सेकले अनुगमन गरिरहेको बताउँदै इन्सेकको प्रतिवेदनले प्रहरीलाई मार्गदर्शन गरिरहेको बताउनुभयो ।

वक्तृत्वकलामा तिमल्सिना प्रथम

जिल्लास्तरीय माध्यमिक तहको वक्तृत्वकला प्रतियोगितामा जनज्योति मावि फोस्रेटारका गगन तिमल्सिना प्रथम हुनुभएको छ ।

मानव अधिकार संरक्षणमा विद्यार्थीको भूमिका विषयक उक्त प्रतियोगितामा सिद्धस्थली अङ्ग्रेजी आवासीय मावि माडीबजारकी प्रमिला पौडेल द्वितीय, कमला मावि ढङ्ग्रेवासका भास्कर बस्नेत तृतीय हुनुभएको छ । त्यसैगरी मावि पानीट्याङ्कीकी टङ्ककुमारी खड्काले सान्त्वना पुरस्कार पाउनुभएको छ ।

विभिन्न माविको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद पुरस्कार क्रमशः २ हजार रुपियाँ, १ हजार ५ सय रुपियाँ, १ हजार रुपियाँ र ५ सय रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी विद्यार्थीलाई नगद २ सय ५० रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताका मुल्याङ्कनकर्ता साहित्यकार शारदाप्रसाद पहाडी, उपप्राध्यापक नानीबाबु घिमिरे र मानव अधिकारकर्मी अधिवक्ता सुशीला थिङलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

Photo20191210sindhuli1

Photo20191210sindhuli2

Photo20191210sindhuli3

अन्य

भिडियो