INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाको प्रहरीले उजुरी नलिएको पीडित महिलाको गुनासो

३४ वर्षीया महिलाले शम्भुनाथ नपा–१२ कुशहाका ४५ वर्षीय लक्ष्मी साह हलुवाईविरुद्ध मङ्सिर २० गते दिएको जबरजस्ती करणी उद्योगको उजुरी सप्तरी प्रहरीले लिन अस्वीकार गरेको गुनासो गर्नुभएको छ ।

 

देवर, बहिनी र कानुन व्यवसायीसहित मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय पुग्नु भएकी पीडितलाई मुद्दा शाखाका इन्स्पेक्टर सन्तोष खडकाले सो क्षेत्रको घटना जिल्ला प्रहरी कार्यालयले नभई इलाका प्रहरी कार्यालय कल्याणपुरले हेर्ने भन्दै फर्काएको र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख इन्स्पेक्टर विष्णुप्रदिप बस्यालले सो क्षेत्रको घटना जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गर्ने भनेपछि आफूहरू अन्यौलमा परेको बताउनु भयो ।

 

एक छोरीकी आमा ३० वर्षीया महिला र आफ्नो १६ वर्षीय छोराको बालविवाह गर्न दिएको दबाब नमानेपछि उत्पन्न विवाद समाधान गर्ने लोभ देखाई मङ्सिर १२ गते आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताइन् ।

 

छोराको विवाहबारे छलफल गर्न घर जाउ भनी सोही ठाउँका ३५ वर्षीय नसिम मियाँले स.१०प २५८३ नम्बरको मोटरसाइकलमा चढाई नसिमको खाली रहेको घर छेउको चौरमा लगेको र सोही ठाउँका ४० वर्षीय अनीलकुमार राय अमातले वडा अध्यक्षले भनेको मान्नु भनी सल्लाह दिएर गएपछि आएका आरोपित हलुवाईले बलात्कार प्रयास गरेको पीडितले बताउनुभएको छ । हलुवाई शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हुनुहुन्छ ।

 

पति काठमाडौँमा र ससुरा विराटनगरमा मजदुरी गरिरहेकाले उहाँहरूसँग सल्लाह भएपछि घटनाबारे प्रहरी वेस क्याम्प पत्थरगाढामा मौखिक उजुरी दिई लिखित उजुरी गर्न जिल्ला प्रहरी कार्यालय आएको पीडितले बताउनु भयो ।

 

उजुरी लिएर जाँदा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरले एकले अर्काको जिम्मेवारी भन्दै उजुरी नलिई फर्काएको पीडितका देवरले बताउनु भयो ।

अन्य

भिडियो