‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ भन्ने मूल नारासहित मङ्सिर १७ गते २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
प्रभातफेरी, प्रतिभा प्रदर्शन र सामग्री वितरणलगायतका विविध कार्यक्रम आयोजना गरी अपाङ्गता दिवस मनाइएको हो ।
राजविराजस्थित महादेव मन्दिरबाट सुरू भएको प्रभातफेरी कार्यक्रम सगरमाथा अपाङ्ग कल्याण सङ्घ, राजविराजको प्राङ्गणमा पुगेर सभामा परिणत गरिएको थियो ।
सङ्घको आयोजना एवम् लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा ५५ जना अपाङ्गता भएका व्यक्तिलाई कम्बल, स्टिलको थाल र गिलास वितरण गरिएको छ ।
वक्ताहरूले विभेद र सामाजिक अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा परिवर्तन ल्याउन राज्य अग्रसर हुनुपर्ने बताउनु भयो ।
हात चल्नेले हात चलाएर, मस्तिष्क चल्नेले मस्तिष्कको उर्वरत्वबाट आर्थिक स्वावलम्बन प्राप्त गरी परिवार र समाजको बोझ नभई उदाहरणीय व्यक्ति बन्न अपाङ्ता भएका व्यक्तिहरूलाई वक्ताहरूले शुभकामना दिनु भयो ।




