समायोजनले कर्मचारी नहुँदा बर्थिङ सेन्टर बन्द भएका कारण सेवाग्राही मर्कामा परेका छन् । मदाने गाउँपालिका–३ सिर्सेनी र ४ म्यालपोखरीको बर्थिङ सेन्टर बन्द भएको मदाने गाउँपालिकाका सूचना अधिकारी क्रृषिराम पोख्रेलले बताउनु भयो । मदाने गाउँपालिकाले सिर्सेनी र म्यालपोखरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन गरेको थियो ।
सिर्सेनी स्वास्थ्यचौकीको बर्थिङ सेन्टर तीन महिनादेखि बन्द छ । जसका कारण गर्भवति महिलाहरूलाई प्रसूतिको लागि सदरमुकाम र सिमलटारी लैजानु पर्ने बाध्यता रहेको छ ।
सो ठाउँका इश्वर बिककी पत्नी शिवालाई गत असोज १८ गते प्रसूति व्याथाले च्याप्यो । घर नजिकैको बर्थिङ सेन्टर बन्द भएकाले गुल्मी अस्प्ताल लगेर प्रसूति गराएको इश्वर बिकले बताउनुभयो ।
उहाँले घर नजिकै सेवा पाए पैसा खर्च गरेर सदरमुकाम पुग्ने रहर कसैको नहुने बताउँदै धेरै जना बाध्यतामा रहेको बताउनु भयो ।
वडाध्यक्ष नारायण घर्तीले बर्थिङ सेन्टरमा कार्यरत अनमीहरू समायोजनले सरूवा भएर गएपछि गत भदौदेखि समस्या परेको बताउनुभयो ।
अहिले यहाँको स्वास्थ्यचौकी नै कार्यालय प्रमुख विहीन भएको छ । वडाध्यक्ष घर्तीका अनुसार करिब दुई हप्ता कार्यालय सहयोगीले मात्रै कार्यालय सञ्चालन गर्ने अवस्था आएको जानकारी दिनुभयो । स्वास्थ्यचौकीमा अहिले दुई जना सिएमए र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
त्यस्तै वडा नं ४ म्यालपोखरी स्वास्थ्यचौकीको बर्थिङ सेन्टर पनि दुई महिनादेखि बन्द भएको छ । बर्थिङ सेन्टर बन्द भएका कारण गर्भवति महिलाहरू प्रसूतिको लागि पुर्कोट दह पठाउने गरिएको वडाध्यक्ष भिमप्रसाद भट्टराईले बताउनुभयो ।
उहाँले मदानेमा कार्यरत कर्मचारी समायोजनले बाहिर जाने तर बाहिरबाट आउनेले मदाने गाउँपालिका नरोजेका कारण यो अवस्था आएको बताउनुभयो ।
अहिले स्वास्थ्यचौकीमा एक जना अहेव, एक जना अनमी र कार्यालय सहयोगी मात्र रहेको भट्टराईले बताउनुभयो ।
बर्थिङ सेन्टर सञ्चालन भएको चार महिनामै बन्द हुने अवस्थाले अत्यन्तै गार्हो भएको उहाँले बताउनु भयो ।
मदाने गाउँपालिकामा अहिलेसम्म पाँच स्थानमा बर्थिङ सेन्टर छन् । वडा नं ५ मलागिरी र वडा नं ७ भनभनेमा यो वर्ष बर्थिङ सेन्टर सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभयो । उहाँले अन्य स्वास्थ्यचौकीमा पनि कर्मचारी नआए बन्द गर्नुपर्ने अवस्था आउने बताउनु भयो ।