INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार अघि नै अस्पतालको सघन कक्षमा भर्ना

महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तारी गर्ने तयारी गरेपछि सुनसरी चतराधामका सिद्घबाबा भनिने कृष्णदास गिरी अति सघन कक्ष (आइसीयू) मा भर्ना भएको प्रहरीले जनाएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा आफ्नो आश्रममा रहेकी महिला अनुयायीलाई कात्तिक ४ गते बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आरोपितलाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी विराटनगर अस्पताल पुगे लगत्तै आरोपित अचानक मुटु दुख्यो भन्दै क्याबिनबाट अति सघन कक्ष (आइसीयू) मा भर्ना भएको प्रहरीले जनायो ।

मङ्सिर १२ गते अस्वस्थ भएर अस्पताल भर्ना भएका कृष्णदास गिरी मङ्सिर १४ गते प्रहरीले गिरफ्तार गर्ने तयारी गरेपछि आइसीयूमा भर्ना भएको जिल्ला प्रहरी कार्यालय सुुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो । आरोपित आइसीयूमा भर्ना भएपछि गिरफ्तार गर्न नसकिएको डिएसपी शर्माको भनाइ छ ।

यसैबीच मङ्सिर १४ गते अपरान्हसम्म अस्पतालमा पत्रकार बोलाएर आफू निर्दोष रहेको बताउने आरोपित गिरीले पीडित भनिएकी महिलासँग आफूलाई बचाउन अपिल गरेको अडियो सार्वजनिक भएको छ ।

अडियोमा आरोपितले आफूबाट गल्ती भएको र यो समस्याबाट पार लगाउन अपिल गरेको प्रहरीले जनाएको छ ।

अडियोको आवाज आरोपितसँग मिल्ने भएपनि यथेष्ट अनुसन्धान गर्न बाँकी रहेको डिएसपी शर्माले बताउनु भयो ।

आरोपित आइसीयूमा भर्ना भएपछि प्रहरीले असईको नेतृत्वमा सादा पोशाकमा प्रहरी निगरानी गरिरहेको छ ।

सोलुखुम्बुको जुबुमा ०३१ सालमा जन्मिएका कृष्णदासको खास नाम कृष्णकुमार गिरी रहेको प्रहरीको भनाइ छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा कात्तिक ५ गते गराइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो