INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक अनुपस्थित हुँदा पढाइ अनियमित

सोरु गाउँपालिका—६ जिमा गाउँमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षक समयमा उपस्थित नहुँदा पठनपाठनमा बाधा हुने गरेको विद्यार्थीहरूले बताएका छन् ।

कक्षा पाँचसम्म पठनपाठन हुने विद्यालयमा आफुहरू समयमै विद्यालय पुगेपनि शिक्षकहरू भने बिहान ११ बजेसम्म पनि नपुग्ने गर्दा हरेक दिन एक दुई पिरियड छुट्ने गरेको विद्यार्थीहरूको भनाई छ ।

१ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयमा एक जना बालविकास सहजकर्ता सहित अन्य तीनजना शिक्षक कार्यरत छन् ।

विद्यालयका प्रधानाध्यापक गणेश भट्ट र शिक्षक टङ्क भट्ट दसैँ विदादेखि हालसम्म विद्यालयमा अनुपस्थित रहेको कक्षा ४ मा अध्ययनरत नन्दऋषी भट्टले बताउनुभयो ।

शिक्षक धनकर्ण मल्ल भने दिनहुँ ११ बजे मात्रै विद्यालयमा पुग्ने गरेको र शिक्षकहरू कहिलेकँही मदिरा सेवन गरेर विद्यालय आउने गरेको भट्टले बताउनुभयो ।

बालविकास सहजकर्ता शिक्षिका मायादेवी भट्टमात्रै नियमित विद्यालय आउने गरेको कक्षा ५ मा अध्ययनरत् विद्यार्थी भक्ति लावडले बताउनुभयो । अन्य शिक्षक नआएपछि शिक्षिका भट्ट एकजनाले नै सबै कक्षा धान्ने गरेको बताउनुभयो ।

सो विद्यालयमा सञ्चारकर्मी र अभिभावक पुग्दा बिद्यालयका सबै ढोका बन्द रही विद्यार्थीहरू भने सबै खेलमैदानमा खेलिरहेका थिए ।

विद्यालयमा शिक्षक नभएपछि अधिकांश समय खेलेरै छोराछोरीहरू घर फर्कने गरेको अभिभावक भिमबहादुर खत्रीले बताउनुभयो ।

शिक्षक अनुपस्थित हुने र आफ्ना बालबालिकाको पढाइमा बाधा भइरहेको बारेमा नजिकै रहेको वडा कार्यालयलाई जानकारी गराई कारवाहीको माग गरेपनि वडा कार्यालयले कुनै पहल नगरेको अभिभावक मङ्गल कार्कीले बताउनुभयो ।

सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले भने बालबालिकाको पढाइमा बाधा पुर्‍याउने शिक्षकहरूलाई तत्कालै स्पष्टिकरण सोधिनुका साथै चित्तबुझ्दो उत्तर नदिए आवश्यक कारवाही गरिने प्रतिबद्धता जनाउनुभयो ।

अन्य

भिडियो