बडिमालिका नगरपालिकाले मार्तडी सडक खण्डको थुवाँखाद सडक छेउमै खुला ठाँउमा डम्पिङ साइड बनएपछि वातावरण दुर्गन्धित हुँदा आफूहरूलाई समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ मा स्थानीयले फोहोर मैला व्यवस्थापन गर्दा स्थानीयको सहमति र वातावरणमा असर नपर्ने गरी व्यस्थापन गर्नु पर्ने ऐनमा उल्लेख गरेको भए पनि नगरपालिकाले भने मानवबस्तीलाई प्रत्यक्ष असर पार्ने गरी डम्पिङ साइड बनाएको गैर सरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय काशी बिकले बताउनु भयो ।
डम्पिङ साइडको छेउबाटै बाहुली नदि बग्ने गरेको छ भने माथि मुल सडक रहेको छ । मार्तडीबाट टिफरले बोकेर ल्याएको फोहोर तथा पलाष्टिक जन्य पदार्थ जलाउने कार्यले बाहुली नदीसमेत प्रदुषित बन्दै गएको स्थानीयको आरोप छ ।
सडकको छेउमै खुला ठाँउमा फोहोर फाल्नु र पलाष्टिक जन्य पदार्थ जलाउनुले स्वास्थ्यमा गम्भीर असर हुन गई कालान्तरमा क्यान्सरको खतर हुने डा. दुर्गाराज महर्जनको भनाइ छ ।
बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष बिनोदकुमार बिकले डम्पिङ साइड सडक छेउमै भएका कारण यसले आवतजावत गर्दा समस्या भएको बताउनु भयो ।
डम्पिङ साइड बनाउँदा वातावरणीय प्रभाव मुल्याङ्कन गरेर बनाउनु पर्ने हो तर डम्पिङ् साइड बनाउने ठाउँकै अभाव रहेका कारण सडक छेउमै बनाउनु परेको बडीमालिका नगरपालिकाका प्रमुख पदम बढुवालले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘उपयुक्त स्थान नपाएका कारण हाललाई सो क्षेत्रमा फोहर फालिँदै आइएको छ । उपयुक्त ठाउँ र जग्गाका लागि पटकपटक छलफल गरिरहेका छौँ । स्थानीयलाई समस्या नहुने गरी चाँडै व्यवस्थापन गर्छौँ ।’
