INSEC Online

📅 २०८३ जेष्ठ २१

गरिबीका कारण १० वर्षदेखि छाप्रोमा, सहयोगको याचना

थामडाँडा सामुदायिक वन क्षेत्र भित्र सानो झुपडी । पुरानो काठपात अनि ढुङ्गाको त्यो छाप्रो भत्कने बाटो पर्खे झैँ आभास हुन्छ । पुरानो च्यातिन लागेको त्रिपाल जस्तो देखिने प्लाष्टिकको छानो । यो छाप्रो मानिस बस्ने घर हो । राम्रोसँग एक जना सुत्ने सम्मको क्षेत्रफल छैन । तर, यति सानो ठाउँमा पनि विगत १० वर्षभन्दा बढी समयदेखि बलबहादुर केसीले यही छाप्रोमा कष्टकर जीवन बिताइ रहनुभएको छ ।

६० वर्ष नाघिसक्नुभएका बलबहादुर यही छाप्रोभित्र खाना पकाउनु हुन्छ, खानुहुन्छ अनि सुत्नुहुन्छ । उहाँको पुख्र्यौली घर बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित गुफा हो । ‘घरभन्दा पनि जन्मस्थान हो गुफा ।’ बलबहादुर भन्नुहुन्छ–‘घरबारी अरू केही भएको भए त उतै भइन्थ्यो होला नि ! यता आएर बसेको पनि ३० वष भन्दा बढी भइ सक्यो । यही घर बनाएर बसेको पनि १० वर्षभन्दा धेरै भयो ।’

थामडाँडा सामुदायिक वनका पूर्व सचिव शेरबहादुर केसीले बलबहादुरले उहाँको केही नभएकै कारण वनमा बस्न दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘म सचिव भएको समयमै हो उहाँले बस्ने बास बनाएको । सामुदायिक वनको जग्गामा बास बनाउनुभयो । तरपनि उहाँको केही नभएको र त्यहाँबाट हटाएर पनि पठाउने ठाउँ नभएकाले बस्न दिएका हौँ ।’

सचिव केसीले थप भन्नुभयो–‘दैनिक काम गर्न पनि सक्नुहुन्न । खाने खर्च जोहो गर्न पनि कठिन छ । सहयोगी दाता भएको खण्डमा केही सहज हुने थियो कि !’

संविधानको धारा ४३ मा आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आप्mनो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ ।

उहाँलाई अहिले ओढ्ने–ओछ्याउने र एकछाक पकाउने अन्नको जोहो गर्न समेत निकै कठिन भएको छ । खाना पकाउँदा आगोले लत्ताकपडा जलेर नष्ट भएपछि चिसो भुइँमा सुत्ने गरेको केसीले बताउनुभयो । उहाँ चिसोले गर्दा शरीर सुन्निने, काम्ने जस्ता समस्याहरू देखिएको बताउनुहुन्छ । उहाँ कोही सहयोगी पाए गाउँसमाजमा नै बस्ने बताउनुहुन्छ । ‘त्यसका लागि आफूसँग जग्गाजमीन र सम्पत्ति छैन । सहयोगदाता कोही भए हातै जोडेर अनुरोध गर्छु ।’-उहाँले भन्नुभयो ।

photo20191128myagdi1

photo20191128myagdi2

अन्य

भिडियो