INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गर्नेमा बालिका बढी

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष तोकेको छ । उमेर नपुगी विवाह गर्न वा गराउन हुँदैन भन्ने प्रावधान छ ।

तर, दार्चुलामा भने बालविवाह गर्ने र गराउनेको सङ्ख्यामा कमी आएको छैन । एक तथ्याङ्कअनुसार बालविवाह गर्नेमा बालिकाको सङ्ख्या बढी छ ।

मालिकार्जुन गाउँपालिकाको सहयोगमा गुड नेभर इन्टरनेशनल नेपाल र सामुदायिक ग्रामीण विकास समाज नेपालले गरेको सर्वेक्षणअनुसार मालिकार्जुन गाउँपालिकामा बालविवाहको सङ्ख्या बढ्दो देखिएको हो ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विवाह गरेका महिला २ सय २० जना र पुरुष १ सय ३० जनामध्ये १ सय २६ जना केटी र २३ जना केटाले २० वर्ष उमेर नपुगी विवाह गरेको पाइएको छ ।

सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) का टिम लिडर अशोकराज ओझाका अनुसार गाउँपालिकाका आठ ओटै वडामा गरिएको सर्वेक्षणमा १४ देखि १५ वर्षको उमेर समूहमा विवाह गर्ने ७ दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत र १८ देखि १९ वर्ष उमेर समूहमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत बालबालिका रहेका छन् ।

बालविवाहमा परेका मध्ये ५८ दशमलव ७८ प्रतिशत आमा बुबाले नै मागी विवाह गरेको तथ्याङ्क पाइएको छ ।

गुड नेभर इन्टरनेशनल नेपालका जिल्ला संयोजक नारायण चौधरीले भन्नुभयो–‘विगतमा आमा बुबाले नै धार्मिक संस्कार अनुसार मागेर विवाह गराइएको पाइयो ।’

यस्तै १५ दशमलव ९ प्रतिशतले भागी विवाह र २५ दशमलव ४ प्रतिशतले प्रेम विवाह गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । २०७३ सालदेखि २०७५ सालसम्म विवाह गर्ने जोडीहरूको तथ्याङ्क सङ्कलन गरिएको छ ।

मालिकार्जुन गाउँपालिकालाई २०८० भित्र बालविवाह मुक्त गाउँपालिका बनाउने उद्देश्य अनुसार तथ्याङ्क सङ्कलन गरिएको हो ।

गाउँपालिकाले गैरसरकारी संस्थाको सहयोगमा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति योजना २०७६ समेत निर्माण गरेको छ ।

रणनीति योजनामा समेटिएको तथ्याङ्क अनुसार २०७३ सालमा २९ जना, २०७४ सालमा २८ जना र २०७५ सालमा ६९ जना बालबालिकाको विवाह गरेको पाइएको जिल्ला संयोजक चौधरी बताउनुहुन्छ ।

जिल्लामा साथीहरूको लहैलहैमा लाग्नु, बालविवाह गर्नु हुँदैन भन्ने चेतना नहुनु, विद्यालय शिक्षा निरन्तरतामा कमी हुनु, ज्ञानको अभावले गर्दा बालविवाह भएको पाइने गरेको टिमलिडर ओझा बताउनुहुन्छ ।

खासगरी आधुनिक समाजमा सामाजिक सञ्जालको गलत प्रयोग हुनु, विवाहसम्बन्धी परम्परागत मूल्य मान्यता कायमै रहनु, गरिबी, घर परिवारको दबाबलगायतले बालविवाह बढ्दो मात्रामा रहेको उहाँको भनाई छ ।

सर्वेक्षणका अनुसार ३५ जनामध्ये २५ केटी र १० जना केटाले विवाह अगावै विद्यालय छोडेको समेत पाइएको ओझाले बताउनुभयो ।

यस्तै ९१ जनामध्ये ७८ केटी र १३ जना केटाले विवाह कक्षा ६ देखि कक्षा १२ सम्म पढ्दापढ्दै विवाह गरेका छन् ।

यस्तै ५० प्रतिशत बालबालिकाले विवाह पश्चात पढाई छोडेका छन् भने ९१ जनामध्ये ४१ जनाले मात्रै विवाह गरेपनि पढाइ निरन्तरता दिइएको पाइएको छ ।

मालिकार्जुन गाउँपालिकाले यसै आर्थिक वर्षबाट गाउँपालिकामा बालविवाह मुक्त अभियान कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

‘बालविवाह अन्त्य गर्ने रणनीति योजना निर्माण गरेका छौँँ ।’–अध्यक्ष धामीले भन्नुभयो–‘योजना अनुसार गाउँपालिका भरी विभिन्न कार्यक्रम तय गरिएको छ ।’

गाउँपालिकामा पछिल्लो समय सामाजिक सञ्जालका कारण बालविवाह बढ्दै गएको भन्दै उहाँले पाँच वर्षभित्र यो अभियानले गाउँपालिकामा बालविवाह अन्त्य भएको घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने जनाउनुभयो ।

उहाँले मालिकार्जुन गाउँपालिकाको गन्तव्य बालविवाह अन्त्य हाम्रो कर्तव्य बोध भएरै कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।

पहिलेको तुलनामा अहिले बालविवाह झन् बढ्दै गएको भन्दै उहाँले सामाजिक सञ्जालका कारण पनि बालबालिकाले विहे गर्ने गरेका छन् ।

विद्यालय उमेरमा बालबालिकाले मोबाइल, फेसबुकलगायतका प्रविधि र सामाजिक सञ्जालको प्रयोग गर्दा वालविवाह बढेको उहाँको भनाइ छ ।

अन्य

भिडियो