विवाहपञ्चमीको अघिल्लो दिन हुन लागेको उपनिर्वाचन सांस्कृतिक अधिकारका दृष्टिलेसमेत सम्वेदनशील बनेको छ । यसले सुरक्षा चुनौतिलाई थप जटिल बनाएको सुरक्षा क्षेत्रका अधिकारीले बताएका छन् ।
अरु बेला चुनाव हुनु अघि सीमा बन्द गरिने भएपनि यसपाली विवाहपञ्चमीकै कारण नेपाल भारत सीमा बन्द नहुने महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले बताउनुभयो ।
सीमा बन्द नभए पनि निर्वाचन सुरक्षाका लागि जाँचमा कडाई, अपराध र आपराधिक व्यक्ति बारेमा सूचना आदानप्रदानमा भने दुवै पक्षका सुरक्षाकर्मीले एक अर्कालाई सघाउने सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीका अनुसार भारतीय सीमासँग जोडिएको मटिहानीमा सर्तकता र सुरक्षा गस्ति बढाइएको छ ।
विवाहपञ्चमीका लागि भारतबाट हजारौँको सङ्ख्यामा भित्रने तीर्थयात्री पिपरा हुँदै जनकपुर जाने भएकाले प्रशासनले सुरक्षाको थप व्यवस्था मिलाएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले विवाहपञ्चमीका लागि नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सुरक्षा स्कर्टिङमा जनकपुरसम्म पु¥याउने निर्णय गरेको छ ।
यसबीच भारतीय सवारीले बाटोमा कसैलाई चढाउन र ओराल्न भने नपाउने व्यवस्था समेत गरिएको छ ।
‘जनकपुरबाट जलेश्वर चल्ने नेपाली सवारी भने मतदान अवधिभरका लागि आवागमनमा रोक लगाइएको छ ।’–एसपी अधिकारीले बताउनुभयो ।
महोत्तरीको सीमा क्षेत्र भारत बिहारको सीतामढी र मधुवनी गरी दुई जिल्लासँग जोडिएको र उक्त जिल्लासँग जोडिएको करिव ४० किमी वरिपरीको क्षेत्र सुरक्षा दृष्टिले अति संवेदनशील मानिन्छ ।
उपनिर्वाचन हुने तीन ओटै स्थानीय तह अन्तर्गत १९ मतदान स्थल र २९ मतदान केन्द्र कायम गरिएको छ ।