बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्य चौकीमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा यहाँ आउने बिरामीलाई उपचारमा समस्या परेको छ ।
यसअघि यहाँ कार्यरत स्वास्थ्यकर्मी समायोजनको क्रममा दुई महिनाअघि अन्यत्र गएको र सरुवा भएर आउनु पर्ने स्वास्थ्यकर्मी नआएका कारण सर्वसाधरणको उपचारमा समस्या परेको स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव धर्मराज बडुले जानकारी दिनुभएको छ ।
दैनिक १५ देखि २० जना सर्वसाधरण उपचार सेवा लिन आउने सो स्वास्थ्यचौकीमा अहिले बडु र एकजना कार्यलय सहायक मात्र कार्यरत छन् ।
आफू एक्लैले कार्यलयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको सबै काम गर्नुपरेका कारण निकै समस्या भएको र सबै बिरामीलाई सेवा दिन नसकिएको उहाँले बताउनुभयो ।
बिरामीको स्वास्थ्य परीक्षण गर्ने अहेव र स्वास्थ्य सहायक नै नभएपछि सेवा लिन आउनेलाई सेवा दिन नसकिएको र सरुवा भएर आउने कर्मचारी नआउने भएमा अर्काे विकल्प खोज्न गाउँपालिकालाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले सरुवा भएर आउने स्वास्थ्यकर्मीको टुङ्गो लागिसकेपछि गाउँपालिकाले अर्काे व्यवस्था गर्ने बताउनुभयो ।
उपचार सेवा लिन आउनुभएका सो वडाका रामबहादुर गुरुङका अनुसार एक जना मात्रै स्वास्थ्यकर्मीले सबै काम गर्नु पर्दा समयमै सहज उपचार सेवा नपाएको बताउनुभयो ।