जिल्लाका २० ओटा वडामा अझै स्वास्थ्य चौकी र सुरक्षित प्रसूति केन्द्र नहुँदा यस क्षेत्रका सुत्केरी र गर्भवती महिलाहरूको ज्यान जोखिममा पर्ने गरेको छ ।
नौ ओटा स्थानीय तह रहेको दार्चुलाका ६१ वडामध्ये हाल ४१ ओटा वडामा मात्रै स्वास्थ्य सेवाको पहुँच पुगेको छ ।
दार्चुलाको अपि हिमाल गाउँपालिका–१, ५ र ६, मार्मा गाउँपालिका–३, नौगाड गाउँपालिका–२ र ५, व्यास गाउँपालिका–३, दुहुँ गाउँपालिका–१ र ३, लेकम गाउँपालिका–२ र ५ तथा मालिकार्जुन गाउँपालिका–१ र ७ र महाकाली नगरपालिका–४, ५, ६ र ८ मा स्वास्थ्य चौकी तथा सुरक्षित प्रसूति केन्द्र छैनन् ।
सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिका–४ र ५ का स्थानीयको लागि जिल्ला अस्पतालमै सेवा लिने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडालले बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्य सेवामा पहुँच नपुगेका वडाहरू र बस्तीको लागि नगर स्वास्थ्य एकाई स्थापना गरिएको उहाँले बताउनुभयो ।
शैल्यशिखर नगरपालिका–३, ५ र ७ मा स्वास्थ्य चौकी तथा सुरक्षित प्रसूति केन्द्र स्थापना गर्न नसकिएको कारण त्यस क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवा लिन समस्या रहेको नगर स्वास्थ्य सहसंयोजक गणेश बोहराले बताउनुभयो ।
चालू आर्थिक वर्षमा ती वडाहरूमा नगर स्वास्थ्य एकाई स्थापनाको तयारी भइरहेको र केही वडाहरूमा स्वास्थ्य चौकी स्थापना गर्न पानीकै अभावले पनि समस्या भएको उहाँको भनाइ छ ।
जिल्लामा दुई ओटा अस्पताल र ४१ ओटा स्वास्थ्य चौकी छन् भने विभिन्न स्थानीय तहहरूले २४ ओटा सामुदायिक स्वास्थ्य एकाई स्थापना गरेका छन् ।
स्वास्थ्य एकाई स्थापना गरिएको भएपनि दक्ष जनशक्ति तथा उपकरण नहुँदा उपचारमा भने समस्या हुने गरेको स्थानीय बताउँछन् ।
वडाहरूमा स्वास्थ्य चौकी र सुरक्षित प्रसूति केन्द्र नहुँदा तीन–चार घण्टाको पैदल यात्राबाट मात्रै स्वास्थ्य चौकी र प्रसूति केन्द्रसम्म पुग्नुपर्ने बाध्यता रहेको मालिकार्जुन गाउँपालिका–१ की थेपडी बोहराले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो–‘गाउँ नजिकै स्वास्थ्य चौकी छैन । सुत्केरी व्यथा लागेको महिलालाई नजिकको स्वास्थ्य संस्था पु¥याउन गाडीमै एक घण्टा बढी लाग्छ । हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य चौकी, दक्ष जनशक्ति र उपकरण सहितको सुरक्षित प्रसुति केन्द्र निर्माण गरिनुपर्छ । स्वास्थ्य चौकी नहुँदा सुत्केरी र गर्भवती महिलाहरूले बढिजसो स्वास्थ्य समस्या भोग्नु परेको छ ।’
जिल्लाभरी स्थापना गरिएका स्वास्थ्य संस्थाहरूमा पनि स्वास्थ्य समायोजनका कारण दक्ष र तालिम प्राप्त जनशक्ति अपुग रहेको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनुभयो । उहाँले भन्नु भयो–‘जिल्लामै जटिल खालका बिरामी आए भने रिफर गर्नुपर्ने बाध्यता छ ।’
ग्रामीण भेगमा स्थापना भएका सबै सुरक्षित प्रसूति केन्द्रहरूमा उपकरण पनि छैनन् । उपकरण पुगेका ठाउँमा जनशक्ति छैन भने भवन नहुँदा पनि समस्या भइरहेको स्थानीयको गुनासो रहेको छ । जिल्ला अस्पताल नै हरेक पटक रिफर अस्पतालको रूपमा परिणत भएको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले प्रसूति सेवा प्रदान गर्नको लागि दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ ।