‘वडा कार्यालयमा दुई जना कर्मचारी पनि बस्न पनि मुस्किल छ । अहिलेसम्म त वडासचिव नभएर वडा अध्यक्ष र एक जना कार्यालय सहयोगी एउटै कोठामा बस्छौँ । तर, वडासचिव पनि भइदिएको भए कहाँ राख्ने भन्ने समस्या हुने थियो ।’–यो भनाइ हो अपिहिमाल गाउँपालिका ५ का वडाअध्यक्ष दिलिपसिंह धामीको ।
भवन अभाव झेलिरहेको सो वडाले वडासचिव समेत नपाउँदा दैनिक कामकाज गर्न समस्या भएको उहाँले बताउनुभएको छ ।
उहाँले गर्ने कामकाज अधिकांश समय झोलामै हुन्छ । ‘झोलामा लेटर प्याड, छाप बोक्छु ।’–उहाँले भन्नुभयो ।
वडासचिवको काम गर्नु आफैँले परेको छ । सामाजिक सुरक्षा भत्ता देखि दैनिक पत्रचारसम्मको काम वडाध्यक्षको जिम्मामा छ । उक्त वडाको मात्र हैन, अपिहिमाल गाउँपालिकाका ६ ओटै वडामा सचिव छैनन् ।
‘६ ओटै वडामा प्राविधिक सहायकलाई अहिले दुई वडा हेर्ने गरी जिम्मेवारी दिइएको छ ।’–अपिहिमाल गाउँपालिकाका नायव सुब्बा लक्ष्मणसिंह धामीले भन्नुभयो ।
‘विगतमा वडा सचिवको जिम्मेवारी लिएर दुई वडा हेर्थेँ । अहिले गाउँपालिकामा दरबन्दी भएपछि प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी छ ।’–धामीले भन्नुभयो ।
वडामा सचिव नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको जनप्रतिनिधिहरू नै बताउँछन् । पछिल्लो पटक समायोजनका कारण पनि स्थानीय तहहरूले वडा सचिवको अभाव झेल्नुपरेको शैल्यशिखर नगरपालिकाका प्रवक्ता माधवराज भट्टले बताउनुभयो । समायोजन पछि गएका ठाउँमा नयाँ कर्मचारी आएका छैनन् । जसको कारण अहिले समस्या छ ।
दार्चुलाको मार्मा गाउँपालिकाको पाँच वडामा सचिव छैनन् । गाउँपालिकाका नायव सुब्बा सञ्जीव अवस्थीका अनुसार वडा नम्बर १, ३, ४, ५ र ६ मा सचिव छैनन् ।
वडा सचिव नहुँदा प्राविधिक सहायकहरूले जिम्मेवारी निर्वाह गरेका छन् । मार्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत समेत छैनन् । अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा रामकुमार राना कार्यरत हुनुहुन्छ ।
नौगाड गाउँपालिकाको पाँच वडामा सचिव छैनन् । गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीका अनुसार वडा नम्बर १, २, ३, ४ र ६ मा सचिव नहुँदा प्राविधिक सहायक र करारका कर्मचारीबाट कामकाज गराउनु परेको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छैनन् । यसअघि गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मोहनसिंह धामीको जिल्ला समन्वय समितिमा सरूवा भएपछि अहिले मदनसिंह ठगुन्ना निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ८ र ९ मा वडा सचिव छैनन् । तीन ओटा वडाका सचिवको समायोजनपछि सरूवा हुँदा अहिले दैनिक कामकाज चलाउन समेत समस्या भएको नगरपालिकाका प्रवक्ता माधवराज भट्ट बताउनुहुन्छ ।
सधैँ कर्मचारी अभाव रहँदै आएको छ । नगरपालिकामा दर्जन प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । अहिले विद्यालय निरीक्षक सुरेन्द्रबहादुर भट्टलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
उहाँले भन्नुभयो–‘वडा सचिव नहुँदा कार्यसम्पादनमा निकै समस्या भएको छ । स्थानीयलाई वडा कार्यालयबाट दिनुपर्ने सेवा सुविधा समयमै दिन सकिएको छैन । चालू आर्थिक वर्षमा गर्नुपर्ने कामको लागि समेत समस्या भएको छ ।’
मालिकार्जुन गाउँपालिकाको ३, ६ र ७ नम्बर वडामा वडा सचिव नभएको गाउँपालिका प्रवक्ता प्रेमराज पन्तले बताउनुभयो ।
व्यास गाउँपालिकाको वडा नम्बर ४ र ५ मा वडा सविच छैनन् भने प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । यस गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा रामदत्त जोशी कार्यरत रहेका छन् । दुहुँ गाउँपालिकाको वडा नम्बर १ र ३ मा वडा सचिव नरहेको सूचना अधिकारी विरेन्द्र जोशीले बताउनुभयो ।
लेकम गाउँपालिकाको वडा नम्बर २ र ३ मा वडा सचिव छैनन् । यी वडामा अहिले प्राविधिक सहायकलाई वडा सचिवको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनुभएको छ ।
यस्तै सदरमुकाम खलङ्गा स्थित महाकाली नगरपालिकाको वडा नम्बर ९ मा वडा सचिव छैनन् भने निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा नरसिंह बडाल कार्यरत हुनुहुन्छ ।
वडा कार्यालयमा कर्मचारी नहुँदा सिंहदरबारको अधिकार गाउँ पुगेको आभास अझै नभएको स्थानीय बताउँछन् । अहिले पनि स्थानीयले पूरानै शैलीमा वडा सचिवको झोले कार्यालय खोजी गर्नुपर्ने बाध्यता रहेको छ ।