INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थाबाट बिरामीले सिटामोल पनि पाएनन्

खाँडादेवी गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएपछि उपचारको लागि जाने बिरामीहरूले सिटामोल समेत पाउन छाडेका छन् ।

स्वास्थ्य संस्थामा औषधि सकिएपछि बिरामीलाई औषधि दिन नसिकएको स्वास्थ्य चौकी माकादुमका अहेव राजेशकुमार महतोले बताउनु भयो ।

स्वास्थ्य चौकीमा उपचारका लागि जाने बिरामीलाई सिटामोल समेत छैन भन्दै किन्नका लागि सिफारिस  गर्ने गरेको खाँडादेवी गाउँपालिका–६ का युवराज कार्कीले बताउनुभयो ।

अहिले रूघाखोकी तथा ज्वरोका बिरामी पर्ने क्रम बढे पनि स्वास्थ्य संस्थाले भने सामान्य औषधि समेत नभएको भन्दै बिरामीलाई फर्काउने गरेको उहाँले गुनासो गर्नुभयो ।

औषधि नभएकै कारण बिरामीहरूलाई औषधि नदिई फर्काउनु परेको अहेव महतोले बताउनु भयो । गाउँपालिकाको स्वास्थ्य शाखमा औषधि माग गरेको भए पनि त्यहाँ समेत औषधि नभएको भन्दै औषधि नपठाएको उहाँको भनाइ छ ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले माकादुममा मात्र हैन सो गाउँपालिकाका १४ ओटै स्वास्थ्य संस्थामा एक महिनादेखि सिटामोल लगायतका औषधिहरू अभव भएको बताउनुभयो ।

सिटामोलसहित दम, आँखामा हाल्ने औषधि लगायत सरकारले निःशुल्क उपलब्ध गराउने १० भन्दा धेरै प्रकारका औषधिहरू सकिएको उहाँले बताउनुभयो ।

गतवर्ष खरिद गरिएको औषधि सकिएको र यस वर्षको औषधि खरिद नभइसकेकाले समस्या आएको उहाँले बताउनुभयो । औषधि खरिद प्रक्रिया भर्खरै सुरू भएकाले यो समस्या अझै केही दिन रहने उहाँको भनाइ छ ।

संविधानले स्वास्थ्यको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको छ । स्वास्थ्य चौकीहरूमा नेपाल सरकारले ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ ।

अन्य

भिडियो