नदीजन्य पदार्थ उत्खनन्को विषयमा विवाद हुँदा उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा स्थानीय र प्रहरीबिच मङ्सिर ३ गते भएको झडपमा प्रहरीसहित १० जना घाइते भएका छन् ।
वडा नम्बर ४ र ६ को सिमानामा रहेका शिसुवा र गिदेरी खेलाको ढुङ्गा लैजानेक्रममा स्थानीयले अवरोध गर्दै ठेकेदारका २० ओटा टिपर र एउटा जेसिवी नियन्त्रणमा लिएपछि खुलाउने क्रममा दोहोरो झडप भएको हो ।
स्थानीयले तोकिएको मापदण्डभन्दा बढी उत्खनन् गरी रातारात ढुङ्गा लगेको आरोप लगाउँदै अवरोध गरेका हुन् ।
टिपरलाई स्थानीय प्रशासनले सुरक्षित स्थान जिल्ला प्रहरी कार्यालयमा लैजान खोज्दा स्थानीयले प्रहरी माथि अन्धाधुन्द ढुङ्गामुढा प्रहार गरेपछि स्थिति असहज भएको प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले बताउनुभयो ।
घरभित्र र बाहिरबाट ढुङ्गा र वियरका बोतलले प्रहार भएपछि प्रहरीले स्थिति नियन्त्रणका लागि १० राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले बताउनुभयो ।
झडपमा प्रहरी जवान नरबहादुर कार्की, तुलसी कार्की र पदमबहादुर राई घाइते हुनुभएको छ । घाइते नरबहादुरको ओठ काटिएको छ, तुलसीको गाला काटिएको छ भने पदमबहादुरको गोडामा चोट लागेको छ ।
यस्तै टिपर चालक गोगेन मण्डलको गर्दनमा चोट लागेको छ भने प्रहरीको लाठी चार्जबाट आन्दोलनकारी प्रेम अधिकारी, सविन राना, मिलन राना, गणेश आले, भरत कार्की र अशोक खड्का घाइते हुनुभएको छ । घाइते सबैजना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
स्थानीय दिनेश खड्काले बजारको उत्तरी भेगमा पर्ने महाभारत सामुदायिक वन क्षेत्रमा पर्ने खोलाबाट भू–क्षय हुने गरी दुवै वडाको बस्तीहरूलाई नै जोखिममा पारेर नगरपालिकाले ढुङ्गा उत्खनन् गर्न दिएको आरोप लगाउनुभएको छ ।
वातावरणीय प्रभाव मुल्याङ्कन गर्दासमेत आफूहरूलाई थाहा नदिई मनपरी ढङ्गले गरेको स्थानीयको आरोप छ ।
नगरपालिकाले गत भदौमा बोलपत्र आह्वान गरी बढी मुल्य कबोल गर्ने बिपी कन्स्ट्रक्सनसँग ३ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता पत्रमा नगरपालिकाको १० ओटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुङ्गा, गिट्टी लैजाने उल्लेख छ ।