मायादेवी गाउँपालिका–७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा कर्मचारीको अभावसँगै स्वास्थ्य केन्द्र अस्तव्यस्त बन्नुको साथै दुई महिनादेखि बर्थिङ सेन्टर सञ्चालन नहुँदा सुत्केरी हुने महिलाहरू समस्यामा परेका छन् ।
कर्मचारीहरूको समायोजनमा सरूवा भएसँगै बर्थिङ सेन्टर, गाउँघर क्लिनिक र खोप सेवा समेत बन्द रहेको स्थानीयहरूले जानकारी दिएका छन् ।
नेपाल सरकारको मापदण्ड बमोजिम भौतिक रूपमा संरचना निर्माण भएपनि डाक्टर तथा अन्य कर्मचारी नियमित नबस्दा विभिन्न सेवा प्रभावित बनेका छन् भने औषधिको अभाव छ ।
सरकारले विभिन्न रोगसम्बन्धी ४० प्रकारका औषधि उपलब्ध गराउने भने पनि अहिले २० प्रकारका औषधि मात्र रहेको हरनामपुर प्राथमिक स्वास्थ केन्द्रकी निमित्त प्रमुख सरिता गुप्ताले बताउनुभयो ।
लामो सयम देखि विद्युत महसुल नतिरेपछि लाइन समेत काटिएको छ । आफू कार्यालयमा हाजिर भए देखि नै गाउँपालिकामा बर्थिङ सेन्टरमा भएको समस्याहरूको बारेमा जानकारी गराइरहेको बताउनुभयो ।
कार्यालयमा पुर्णरूपमा कर्मचारी नहुँदा फिल्डको काम गाउँघर क्लिनिक र खोप सेवा समेत ठप्प भएको निमित्त प्रमुख गुप्ताले बताउनुभयो ।
डाक्टर गङ्गाराम यादवले असोज ३० गतेदेखि कार्यालय हाजिर भएको भए पनि कर्मचारीको अभावका कारण बर्थिङ सेन्टर सुचारू गर्न नसकिएको बताउनुभयो ।
सुत्केरी सेवा र गर्भवति जाँच बाहेकका बिरमीहरूको उपचार भए पनि औषधिको अभाव रहेको बताए । एक जना डाक्टर, एक जना प्रमुखलगायत ११ जनाको दरबन्दीमा अहिले तीन जना मात्र कर्मचारीहरू रहेको बताउनुभयो ।
यस सेन्टरमा यशोधरा गाउँपालिका–२, कपिलवस्तु नपा–८ दोहनी र बलुहवा, पिपरीलगायतका स्थानहरूबाट बिरामीहरू आउने गर्दछन् ।
आइतबार र सोमबार बाहेक प्रत्येक दिन ३५ देखि ४० जना बिरामीहरू विभिन्न रोगको जाँच गर्न आउँछन् ।
विगत लामो सयम देखि चल्दै आएको बर्थिङ्ग सेन्टर कार्मचारी समायोजनका कारण कार्मचारीको अभावमा बन्द भएको गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र यादवले बताए ।
बर्थिङ सेन्टर बाट सेवाग्राहीहरूले सेवा लिन नपाएपछि गर्भवती महिला र सुत्केरी गराउने महिलाहरूले सास्ती खेप्नु परेको नूरजहाँ खातुनले दुखेसो समेत पोख्नुभयो ।
उहाँले बर्थिङ सेन्टरको सेवा बन्द हुँदा प्रसूति सेवाकालागि सदरमुकाम तौलिहवा र बाहिर जान बाध्य भएको बताइन् ।
चिटिक्क परेको भवन रहे पनि कर्मचारी नहँुदा स्वास्थ्य केन्द्र नाम मात्रको बनेको छ । बर्थिङ सेन्टरको सेवा बन्द हुँदा प्रसूति सेवाकालागि सदरमुकाम तौलिहवा र बाहिर जान बाध्य छन् ।
केन्द्रकी निमित्त प्रमुख सरिता गुप्ताले कर्मचारी अभावले दुई महिनादेखि बर्थिङ सेन्टर बन्द रहेको बताउनुभएको छ ।