मिथिला विहारी नपा–३ की २२ वर्षीया कुसुमकुमारी मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले २५ वर्षीय पति प्रकाश मण्डलविरूद्ध प्रहरीमा उजुरी गरेको छ । तर, प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ ।
मङ्सिर ६ गते राति ११ बजेतिर घरायसी विवादका क्रममा कुटपिट गरी कुसुमको हत्या गरेको माइतीपक्षको आरोप छ ।
छोरीको विवाह गर्दा आफूले सबै रकम साहु महाजनबाट ऋण लिएको र मोटरसाइकल समेत १ लाख रुपियाँ उधारोमा खरिद गरेकाले तत्कालै ज्वाइँको नाममा नामसारी गर्न नसकेकाले ज्वाँइले मोटरसाइकल नामसारी गराउन भन्दै छोरीलाई पटकपटक कुटपिट गर्दै आएको मृतकका बाबु जिवछ मण्डलले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘जसोतसो एक महिना पहिले एजेन्सीको बाँकी रकम तिरेको र केही ब्याज बापतको रकम मात्रै बाँकी भएकाले माघ महिनामा तिरेर ज्वाइँको नाममा मोटरसाइकल नामसारी गराउने योजनामा थिएँ । मोटरसाइकलकै नामसारीको निहुँमा छोरीलाई कुटपिट गरी हत्या गरे ।’
यता, मृतक कुसुम कुमारी मण्डलको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ ।
प्रहरीले आरोपित प्रकाश मण्डल र प्रकाशका बाबु रामचन्द्र मण्डललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले बताएका छन् ।
गत साल वैशाख २८ गते सिरहाको गोलबजार नपा–८ चोहर्वा भाइजी टोलका जिवछ मण्डलकी २२ वर्षीया छोरी कुसुम र मिथिला विहारी नपा–३ बजारचोक बस्ने रामचन्द्र मण्डलका २५ वर्षीय छोरा प्रकाश मण्डलबिच हिन्दु परम्पराअनुसार मागी विवाह भएको थियो ।
विवाहमा माइती पक्षले नगद १ लाख ५० हजार रुपियाँ, २ तोला सुन, १५ तोला चाँदी, फर्निचर र अपाचे मोटरसाइकल दहेजमा दिएर करिव १५ लाख रुपियाँ खर्चेर विवाह गरेको मृतक कुसुमकी आमा शेलो देवी मण्डलले बताउनुभयो ।