INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता गरी कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा धर्ना

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–४ का २३ वर्षीय प्रविण कापरलाई गिरफ्तार गरी उजुरी दर्ता गर्न माग गर्दै पीडित परिवारजनले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते धर्ना दिएका छन् ।

पीडित युवतीलाई आरोपितले कात्तिक २९ गते राति ११ बजे पीडितकै घरमा आएर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

उक्त घटना गाउँमै मिलाउन कात्तिक ३० गते पञ्चायत बसेको थियो । पञ्चायतमा केटा र केटी दुवै अविवाहित भएको भन्दै विवाह गराउने सहमति भएपनि पञ्चायतबाटै केटा पक्षले विवाह नगर्ने अडान लिएपछि घटना बाहिर आएको हो ।

पीडित युवती, पीडितकी आमा र दाजु मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन आएपनि उजुरी दर्ता नगरी आरोपितलाई उम्काउन खोजेको भन्दै प्रहरीलाई दबाब दिन धर्नामा बसेको पीडित पक्षले जनाएको छ ।

धर्नामा आएका गाउँलेका अनुसार घटनालाई लुकाउन र उल्टै आरोपितलाई ‘लुकाएको’ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन लागेकोमा आरोपित पक्षबाट पीडित पक्ष असुरक्षित रहेको पीडित पक्षले जनाएको छ ।

आरोपितका दुई जना काका विजय कापर र दिलिप कापर हाल जिल्ला प्रहरी कार्यालय धनुषामै कार्यरत छन् । आरोपित कापरका बुबा अजय कापर समेत प्रहरीबाट अवकाश प्राप्त भएकाले प्रहरीले घटनालाई दबाउन खोजेको पीडित पक्षको आरोप छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले उजुरीमा निवेदकको हस्ताक्षर, पीडितको नाम र बतन खुल्ने गरी र गोप्य निवेदन समेत गरी दुई प्रकारको उजुरी आउनुपर्नेमा त्यसो नभएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले उजुरी दर्तामा ढिलो भएको बताउँदै निवेदकलाई बोलाएर चाँडै उजुरी दर्ता गरी आवश्यक कारवाही प्र्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर २ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो