लिखु तामाकोसी गाउँपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिमा तीन महिनादेखि डाक्टर नहुँदा बिरामीहरू स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।
सो स्वास्थ्य केन्द्रका डाक्टर गुटी झा समायोजनामा परेपछि तीन महिना अघि सरूवा भएर गएपछि नयाँ डाक्टर आएका छैनन् ।
स्थानीय गणेश दाहाल घरै अगाडि प्राथमिक स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा उपचारको लागि एक घण्टा लगाएर गाडी चढी सदरमुकाम मन्थली पुग्नु पन बाध्यता रहेको बताउनुहुन्छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि सेवा प्रवाहमा समस्या भएको भन्दै डाक्टरको व्यवस्था गर्न स्वास्थ्य चौकी व्यवस्थापन समितिले ०७६ असार ३१ गते नै गाउँपापालिकामा माग गरेको स्थानीय दुर्गा श्रेष्ठले बताउनुभयो ।
तर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष फौज्दारी मुद्दाको विवादमा फसेकाले स्वास्थ्य चौकीमा डाक्टर नभएको विषयमा उनीहरूको ध्यान नगएको श्रेष्ठको आरोप छ । अध्यक्ष र उपाध्यक्षको विवादका कारण गाउँपालिकाको सम्पुर्ण काम नै ठप्प भएको उहाँको आरोप छ ।
लिखु तामाकोसीका विभिन्न वडा तथा मन्थली नगरपालिका, गोकुलगङ्गा गाउँपालिका र दोलखा जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने सो स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्वास्थ्य उपचार गराउने आउने बिरामीहरू अहेवलाई सामान्य जाँच गराएर फर्कन बाध्य हुने गरेको स्थनीय यादव दाहालको भनाइ छ ।
स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले भने पुराना डाक्टर सरूवा भएर गएका र समायोजना भएर आउने नयाँ डाक्टर नआइपुगेको कारण समस्या भएको बताउनुभयो । नयाँ डाक्टर कहिलो आउँछन् भन्ने विषयमा केही भन्न नसकिने उहाँको भनाइ छ ।