INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसहिंता उल्लङ्घन गरेको भन्दै वडाध्यक्षविरूद्ध उजुरी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले स्थानीयहरुलाई कम्मल वितरण गरेको भन्दै उनीविरूद्ध उजुरी परेको छ ।

आचारसंहिता जारी भइसकेको अवस्थामा कास्की निर्वाचन क्षेत्र नं २ भित्र पर्ने सो वडाका अध्यक्ष पौडेलले थ्रि एञ्जल्स नेपालको सहकार्य र सहयोगमा मङ्सिर २ गते पट्नेरी बस्तीका १२ परिवारलाई एक/एक थान ब्लाङ्केट वितरण गरेको तस्बिर सहितको पोष्ट सार्वजनिक गरेका थिए ।

पौडेलले फेसबुकमा तस्बिर राख्दै लेखेका छन्–‘पोखरा १५ मा अवस्थित थ्री एन्जल नेपालको सहयोग र सहकार्यमा आज वडा नं १५ पट्नेरी बस्तीका विपन्न परिवारका १२ जनालाई एक/एक थान जाडो मौसममा सुविधाको लागि १२ थान ब्लाङ्केट उपलब्ध गराइएको छ । सहयोगी संस्था थ्री एन्जल नेपाललाई धेरैधेरै धन्यवाद । अनि कार्यक्रममा सहभागी पार्वती कार्की, शारदा खत्री, डा.राजेन्द्र गौतम अनि पट्नेरी टोल विकासका अध्यक्ष मुक्तिलाल गुरुङलगायत उपस्थित सबै जनालाई ।’

पौडेलले निर्वाचनमा मतदातालाई प्रभावित पार्न खोजेको भन्दै नेपाली कांग्रेस कास्कीले सोही फेसबुक पोष्टलाई समेत राखेर निर्वाचन आयोगमा मङ्सिर ३ गते उजुरी दर्ता गरेको छ ।

उजुरी दर्तासँगै कांग्रेस कास्की अध्यक्ष समेत रहेका मुल प्रचारप्रासर समिति संयोजक कृष्ण केसीले प्रेस विज्ञप्ति जारी गर्दै आचारसहिंताविरूद्ध काम गर्नेलाई कारबाहीको माग समेत गरेका छन् ।

केसीले निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरूद्धको कार्य भन्दै उजुरी दिइएको बताए ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद ३ मा उपदफा १ (ख ) मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाले कुनै पनि योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन हुँदैन भनिएको छ  ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले मुख्य निर्वाचन अधिकृतले जाँचबुझ गरिसकेपछि प्रमाणित भए सोही अनुरूप निर्णय हुने जानकारी दिए ।

वडाअध्यक्ष पौडेलले भने आफू प्रमुख अतिथिको रूपमा मात्रै उपस्थित भएको बताए । उनले कार्यक्रम वडाले आयोजना नगरेको प्रतिक्रिया दिए ।

photo20191116kaski1

photo20191116kaski2

अन्य

भिडियो