INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिकाको नियन्त्रणमा परेका ट्रष्टका सुरक्षा गार्डको प्रहरीद्वारा उद्धार

भक्तपुर नगरपालिकाले भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गाको संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कार्यस्थलबाट जबरजस्ती उठाएर नियन्त्रणमा लिई नगरपालिकाको कार्यालयमा राखेको दुई घण्टा पछि नेपाल प्रहरीले उद्धार गरी ट्रष्टलाई बुझाएको छ ।

नेपाल ट्रष्टले आफ्नो नाममा रहेको जग्गाको संरक्षणका लागि राखेको सुरक्षा गार्ड आशिष बमलाई नगरपालिकाले नियन्त्रणमा लिएको दुई घण्टापछि प्रहरीले उद्धार गरेको नेपाल ट्रष्टका सञ्चालक समितिका सदस्य सचिव राजेश्वर ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री संरक्षक तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री अध्यक्ष रहने नेपाल ट्रष्टको सञ्चालक समितिले देशभर नेपाल ट्रष्टको नाममा रहेका जग्गाको संरक्षण गर्ने कार्यको सुरुवातसँगै नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १ सय ८ रोपनी २ आना १ पैसा क्षेत्रफल जग्गाको संरक्षण गर्न भन्दै मङ्सिर १ गतेदेखि लागू हुने गरी अस्थायी पोष्ट स्थापना गरेर तीन तिर बोर्ड राखेर सुरक्षा गार्ड राखको थियो ।

सुरक्षा गार्ड राखेको भोलिपल्ट मङ्सिर २ गते भक्तपुर नगरपालिकाले खटाएका करिब १६ जनाको सङ्ख्यामा आएका व्यक्तिले सुरक्षा गार्ड बमलाई जबरजस्ती नगरपालिका लगेर दुई घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरी मुक्त गरेकोे सदस्य सचिव ज्ञवालीले जानकारी दिए ।

सुरक्षा गार्र्डलाई उनीहरूले धरपक्कड गर्नुका साथै हातपात समेत गर्न खोजेको र धम्की दिएको नेपाल ट्रष्टका सदस्य सचिव ज्ञवालीले बताए ।

सुरक्षाकर्मीलाई नगरपालिकाले कार्यालयमा लगेर नियन्त्रणमा लिएको जानकारी पाएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख सविन प्रधानलाई घट्नाबारे जानकारी गराएपछि सुरक्षागार्ड बमलाई प्रहरीले नगरपालिकाबाट उद्धार गरी मुक्त बनाएको ज्ञवालीले बताए ।

अन्य

भिडियो