INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश सरकारबाट बजेट नआउँदा सुत्केरीहरू प्रोत्साहन भत्ता पाउनबाट वञ्चित

चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दासमेत प्रदेश सरकारले जिल्ला अस्पतालमा सुरक्षित मातृत्वको बजेट नपठाउँदा सुत्केरी हुन आउने महिलाहरू प्रोत्साहन भत्ता पाउनबाट वञ्चित भएका छन् ।

रोल्पा नपा–१० धबाङकी २७ वर्षीया धना बिकले गत भदौमा सुत्केरी भएकोमा हालसम्म पनि प्रोत्साहन भत्ता नपाएको गुनासो गरिन् ।

‘अघिल्लो वर्ष सुत्केरी भएकाहरूले भत्ता पाएका थिए रे अहिले हामीले त पाएनौँ ।’–बिकले भनिन्–‘अस्पतालमा पैसा आएपछि पाइन्छ भनेका छन् खोइ कहिले आउने हो ?’

सरकारले पहाडी जिल्लाका लागि स्वास्थ्य संस्थामा सुत्केरी भए बापत २ हजार रुपियाँ र नियमित गर्भजाच गरेमा थप ८ सय रुपियाँ गरी एकमुष्ट २ हजार ८ सय प्रोत्साहन भत्ता पाउने गरेको भएपनि यो वर्ष भने बजेट अभावका कारण उक्त व्यवस्था कार्यान्वयन हुन नसकेको जिल्ला अस्पतालका डा. प्रकाश बुढाले बताए । ‘हाम्रोमा सुरक्षित मातृत्व उधारोमा चलिरहेको छ ।’–उनले भने ।

अस्पतालकी स्टाफ नर्स मिना कुँवर बजेट नआएका कारण समस्या भएको बताउँछिन् । ‘फार्मेसीले पनि अब पैसा दिन नसक्ने बताएको छ । नाम दर्ता बापत उठेको पैसा चलाउने कि भन्ने सोचमा छौँ ।’–प्रदेश ५ सामाजिक विकास मन्त्रालयका डा. उमाशङ्कर प्रसाद चौधरीले भने–‘सुत्केरीको भत्ता रोक्ननहुने बरू यताबाट बजेट नआउँदासम्म अस्पताल विकास समितिको पैसा चलाउनुपर्ने हुन्छ ।’

आर्थिक वर्षको पहिलो चार महिना सकिन लाग्दासमेत रोल्पा अस्पतालमा कर्मचारीको तलब र औजार खरिदमा २० लाख रुपियाँ बाहेकको अन्य कुनै रकम नै आएको छैन ।

अन्य

भिडियो