बैतडी जिल्ला दशरथचन्द नगरपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–३ मित्रनगर डेरा गरी बस्ने ४१ वर्षीया नारू बोहोरालाई कुटपिट गरी घर निकालेको आरोपमा प्रहरीले ४४ वर्षीय पति दिपक बोहरालाई कात्तिक २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आफूमाथि पटकपटक कुटपिट गर्ने, गालीगलौज गर्ने र घरबाट निकाल्ने धम्की दिँदै आएको भन्दै पतिविरूद्व पीडित महिलाले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका हवल्दार केवी रोकाले बताए ।
पति जनपद प्रहरीमा हवल्दार पदमा कार्यरत रहेको भए पनि ०७६ असोज महिनादेखि घरखर्च समेत दिन बन्द गरेको पीडित महिलाको आरोप छ ।
उनले भनिन्–‘दुई छोरा र एक छोरी छन् । श्रीमानले म र छोराछोरीलाई हेर्न छोडनु भयो । उल्टै धनगढी उमनपाकी २५ वर्षीया गिता चौधरीलाई अर्को पत्नीका रूपमा ल्याउनु भयो र मलाई बालबच्चासहित घरबाट निकाल्नु भयो ।’
पतिले घरबाट निकाला गरेपछि हाल डेरामा बस्दै आएकी र न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन बाध्य भएको पीडित महिलाले बताइन् ।
पीडितको उजुरीका आधारमा आरोपित बोहरा र उनले बिवाह गरेर ल्यायकी भनिएकी चौधरीलाई गिरफ्तार गरी कात्तिक २९ गते जिल्ला अदालत, कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको हवल्दार रोकाले बताए ।