आगामी मङ्सीर १४ गते हुन लागेको उपनिर्वाचनमा लमजुङको सुन्दरबजार नगरपालिका–२ को वडाध्यक्ष पदमा कात्तिक २७ गते ६ जना उम्मेदवारले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको इन्सेक लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीले उल्लेख गरेका छन् ।
जिल्लामा एउटा मात्र वडामा निर्वाचन हुने र यहाँको मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति संवेदनशील भएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङगानाले बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण र धाँदलिरहित रूपमा सम्पन्न गर्नको लागि जिल्लामा रहेका राजनीतिक दल नागरकि समाज, पत्रकार, कानुनी व्यावसायी, पर्यवेक्षक एवम् सम्पुर्णलाई सहयोगी भुमिका निभाउनको लागि अनुरोध गरिएको ढुङ्गानाको भनाइ छ ।
उम्मेदवारी दर्ता गर्नेहरूमा मुख्य राजनीतिक दल नेकपा, नेपाली कांग्रेस, राप्रपा र स्वतन्त्र गरी जम्मा ६ जनाले उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुका अनुसार बैतडीका तीन स्थानीय तहका तीन वडामा आठ जना उमेदवारले कात्तिक २७ गते मनोनयन दर्ता गराएका छन् ।
सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौडी नगरपालिका–४ को वडा अध्यक्ष पदका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले बताए ।
सुर्नया गाउँपालिका–१ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको छ ।
यस्तै पुर्चौडी नगरपालिका–४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौडीका कम्प्युटर अपरेटर अनील चन्दले बताए ।
यस्तै दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ ।
नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले बताए ।
मनोनयन दर्ता गरेका उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




