INSEC Online

📅 २०८३ जेष्ठ २१

हुम्लामा उपनिर्वाचनका लागि मनोनयन दर्ता, पाँच ओटै मतदान केन्द्र संवेदनशील

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि हुन गइरहेको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नकपा) का तर्फबाट रुपा शाही, नेपाली कांग्रेसका तर्फबाट तारा शाही र राप्रपा संयुक्त पार्टीबाट दिपबहादुर शाहीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताए । उम्मेदवार मनोनयन दर्ता शान्तिपुर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

उपनिर्वाचनका लागि तोकिएको मानधारा माध्यामिक विद्यालय खर्पेलगाउँ, हुम्ला माध्यामिक विद्यालय राया, सिता माध्यामिक विद्यालय छिप्रा, मालिका माध्यामिक विद्यालय लाली र शङ्कर आधारभूत विद्यालय थालीमा मतदान हुने भएको छ ।

पाँच ओटा मतदान केन्द्र रहेकोमा सबै संवेदनशील रहेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।

‘सुरक्षाका हिसाबले संवेदनशील मानिएता पनि कात्तिक १० गते जिल्ला सुरक्षा समितिको बैठक बसी स्वच्छ र भयरहित निर्वाचनका लागि विशेष सुरक्षा योजना बनाएका छौँ ।’–प्रमुख जिल्ला अधिकारी भट्टराईले भनिन् ।

सो गाउँपालिकामा ३ हजार २ सय ९४ जना कुल मतदाता रहेकोमा १ हजार ६ सय ३५ जना महिला र १ हजार ६ सय ५९ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, हुम्लाले जनाएको छ ।

अन्य

भिडियो