सशस्त्र द्वन्द्वको समयमा बम विष्फोटमा परेका भूमे गाउँपालिका–२ काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका छन् ।
२०६३ माघ महिनामा उनका ठूलो बुबाको छोरा रुपचन्द्र दमाईको घरमा बम विष्फोट हुँदा कौशीमामा लुगा सिलाइरहेका दमाई भूँईमा बेहोस भएका थिए ।
उक्त घटनापछि मानसिक सन्तुलन गुमाएका दमाईको उपचारपछि पनि समान्य अवस्थामा आउन सकेनन् ।
आर्थिक अभावका कारण उपचार हुन नसकेपछि मानसिक अवस्था बिग्रँदै गएपछि सात वर्षदेखि हातमा साङ्लोले बाँधेर राखेको छ ।
गाउँमा मान्छेलाई कुटपिट गर्ने गरेपछि उनको हात साङ्लोले बाँधिएको सात वर्ष भएको स्थानीयले बताए । हात बाँधेदेखि अहिलेसम्म हिँड्डुल पनि गरेका छैनन् ।
भूमे गाउँपालिका–२ का स्थानीय पृथीबहादुर बुढा मगरका अनुसार द्वन्द्वका समयमा तत्कालीन माओवादीले लुकाई राखेको अवस्थामा आफैँ विष्फोट भएको थियो ।
विष्फोटमा उनका भाइ रुपचन्द्र र बुहारी आइती दमाई को मृत्यु भएको थियो । विष्फोट हुँदा लुगा सिलाइरहेका सिङबहादुर बार्दलीबाट तल खसेदेखि समस्या आएको थियो ।
दमाईकी ६४ वर्षीया आमा देमुले साँझ बिहान जसोतसो खाना जोहो गर्दै आएकी छन् । ‘सिङबहादुर आफ्नो घरको बार्दलीमा लुगा सिइरहेका थिए । भाइको घरसँगै नजिक रहेकाले बम विष्फोट हुँदा उक्त बार्दलीबाट खसेका हुन् । त्यस घटनाले अचेत अवस्थामा पुगे ।’–आमा देमुले भनिन् ।
घटनाको एक वर्षपछि उनकी पत्नी अर्कै विवाह गरेर गएपछि खुवाउने स्याहार्नेलगायतका काम आमाले गर्दै आएकी छन् ।
‘छोरा सधैँ भत्केको घरमा एक्लै नाङ्गै सुत्छ । सुत्ने लुगा पनि छैनन् । अनि लगाउने कपडा पनि छैनन् ।’– छोरालाई हेर्दै देमुले भनिन्–‘बूढेसकाल लाग्यो केही गर्न सक्दिनँ । सरकारले केही उपाय गरे हुने थियो ।’
आमाले शरण लिएर बसेको घरबाट छोरालाई खाना पुर्याउने आधा घण्टाको समय लाग्छ । दमाईले बसेकै ठाउँमा दिसापिसाब गर्दछन् । घरको सबै सम्पत्ति बेचेर छोरालाई भैरहवा र बुटवल अस्पतालमा उपचार गराएको आमाले बताइन् ।
‘८–९ लाख रुपियाँ खर्च गरेँ तर सञ्चो हुन सकेन । उपचारको क्रममा खर्च मात्र भयो ।’–आमाले भनिन्–‘अहिले त सम्पत्तिको नाममा भत्केको घर र सानो खेत मात्र छ ।’
उनले अहिलेसम्म नेपाल सरकारबाट कुनै किसिमको राहत पाएका छैनन् । नेपाल सरकारले द्वन्द्वपीडितलाई राहत दिने कुरा पहिले जानकारी नभएको र पछि थाहा पाएर निवेदन दिए पनि उपचार गरेका कागजात ल्याउनु भनेपछि आफूसँग नभएकाले केही प्रक्रिया अगाडि नबढेको देमुले बताइन् ।
जिल्ला प्रशासन कार्यालयले साविकको रुकुम जिल्ला हुँदा निवेदन दिएको भएपनि नयाँ जिल्ला भएका कारण कुनै तथ्याङ्क नभएको र पीडितले निवेदन दिए प्रक्रिया अघि बढाउने जनाएको छ ।