INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचनमा भक्तपुरका १० मतदानस्थल संवेदशनील

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको २२ मतदानस्थल कूल १० ओटा मतदानस्थल संवेदनशील रहेको छ ।

उपनिर्वाचनमा चाँगुनारायण नगरपालिका भित्रका नौ ओटा वडा र भक्तपुर नगरपालिका–१० को एउटा गरी १० ओटा मतदानस्थल संवेदनशील रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा, यसअघिका निर्वाचनमा देखिएका गतिविधि र सरकार विरोधी तत्वबाट हुनसक्ने गतिविधिलाई आधार मानेर संवेदनशील र सामान्य गरी दुई भागमा विभाजन गरिएको हो ।

कूल २२ मतदानस्थलमध्ये १० संवेदनशील र १२ ओटा मतदानस्थल सामान्य रहेको जानकारी दिँदै उहाँले चाँगुनारायण नगरपालिका भित्रका साविक दुवाकोट गाविस, आजात मावि, नैचापौवा आधारभूत विद्यालय, राधाकृष्ण मावि, चुनदेवी मावि, साविक नगरकोट गाविस, सरस्वती उमावि थाकलमाँठ, साविक सुडाल गाविस, गणेश मावि ताथली र भक्तपुर नगरपालिका भित्रको सरस्वती विद्यागृह नवदुर्गा स्थानका मतदानस्थल संवेदनशील रहेको उनले जानकारी दिए ।

उपनिर्वाचनका दिन एकीकृत सुरक्षा योजना बाहेक नेपाली प्रहरीका कम्तीमा ६ सय ५० जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन गरिने डिएसपी पोखरेलले जानकारी दिए ।

उपनिर्वाचनमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरा बनाएर सुरक्षा दिनेगरी एकीकृत सुरक्षा योजना बनेको छ ।

प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त रहेको उक्त स्थानमा उपनिर्वाचन हुने भएको हो ।

यस निर्वाचन क्षेत्रमा कुल ४५ हजार ३६ मतदाता रहेका छन् । ०७४ को निर्वाचनमा ४३ हजार ५ सय ३२ मतदाता रहेकामा अहिले ७ सय ४८ जना महिला र ७ सय ३६ जना पुरुष मतदाता थपिएर कुल ४५ हजार ३६ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।

अन्य

भिडियो