कालापानी, लिपुलेक लिम्पियाधुरालाई भारतको नक्सामा समेटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनले कात्तिक २४ गते आयोजना गरेको विरोध र्यालीमा विद्यालयमा अध्ययनरत बालबालिकाकोे प्रयोग गरेको पाइएको छ ।
उक्त पार्टीका विद्यार्थी कार्यकर्ता विद्यालयमा गई अध्यनरत बालबालिकाहरूलाई र्याली र जुलुसमा सहभागी बनाएको विद्यालयका शिक्षकहरूले बताएका छन् ।
विद्यालयमा कार्यक्रम गर्न भनेर बालबालिकाहरूलाई जबरजस्ती र्यालीमा सहभागी गराएको नुवाकोट माविका शिक्षक गङ्गा भुसालले बताए ।
अध्ययनरत विद्यार्थीहरूलाई विद्यालयमा भन्दा बाहिर लगेर र्याली र जुलुसमा सहभागी बनाएको रिजया माविका शिक्षक ऋषि बिकले बताए ।
भूमिकास्थान–८ को नुवाकोट मावि, सितगङ्गा नपा–१२ को रजिया माविसहित पाँच ओटा विद्यालयका बालबालिकालाई र्यालीमा प्रयोग गरिएको थियो ।
र्यालीमा नौ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई जुलुसमा प्रयोग गरी लिएर गएको विद्यालयहरूले जनाएका छन् ।
बालबालिकाहरूलाई नारा जुलुस सहित लिएर पार्टीको व्यानर, झण्डालगायतका राजनीतिक सामग्री बोकाएर नारा लगाउन बाध्य पारेको शिक्षक तथा विद्यार्थीको आरोप छ ।