हात छैन गोडा छैन काटु कट्यालैको सेरो
जिन्दगीको भार कठै हारेको करम मेरो…….
यो गीतको अंश दुहुँ गाउँपालिका–१ पिपलचौरीका ४२ वर्षीय दिलानन्द भट्टले सुनाएका हुन् । जन्मसिद्धै अपाङ्गता भएका भट्टलाई जीवनका चार दशक यस्तै पीडामा बस्नु परेको छ ।
जन्मजात अपाङ्गता भएर जन्मिएका भट्टका दुवै हात र दुवै गोडा छन् तर चल्दैनन् । जहाँ गएपनि घोप्टो राख्नुपर्छ । बुबा विरादत्त भट्ट र आमा देवकी भट्टको कोखबाट सातौँ सन्तानको रुपमा भट्टको जन्म भएको थियो । अहिले उनकी आमाको मृत्यु भइसकेको छ । परिवारमा सबैभन्दा कान्छो सन्तानको रूपमा जन्मिएका भट्टको जीवन अरुकै सहरामा बाँच्नु परेको छ ।
चार भाई र तीन बहिनीमध्ये भट्ट मात्रै जन्मजात अपाङ्गता भएर जन्मिएका हुन् । अपाङ्गता भएर जन्मिएका छोरालाई सपाङ्ग सरह बनाउन उनका आमा बुबाले धेरै पहल र प्रयास गरे । गाउँमा पाइने जडिबुटीदेखि धामी झाँक्रीसम्म धाए । रोग निको भएन । अहिलेसम्म उनी न हिँड्न सक्छन् न त बस्न नै !
उनले दिसा पिसाब गराउन सहयोगि मान्छे चाहिने बताए । कयौँ दिन दिसापिसाब गराउने मान्छे नपाउँदा सुरुवालमै भएको उनी बताँछन् । बुबा बिरादत्त भट्ट ९० वर्षको भए । आमाको पहिले नै निधन भयो । ‘अहिले दाइ जयानन्दसँग बस्दै आएको छु । दाइको परिवारले हेरचाह गर्छ । दाइको छोरा मेरो (भतिज) कृष्णदत्त भट्टले बिहान बेलुकीको स्याहार गर्छन् ।’–उनले भने–‘भतिज विद्यालय गएपछि समस्या हुन्छ ।’ ‘अहिलेसम्म परिवारले दिसापिसाव गराउन, लुगाफाटो धुन, नुहाउनमा छिःछि गरेका छैनन् ।’–उनले भने–‘दाइको परिवारको मायाले अहिलेसम्म मानवरुपी जीवन जिउँदैछु ।’
पढ्ने इच्छा हुँदाहुँदै पढ्न नपाएको उनको गुनासो छ । ‘समाचार र गीत सुन्छु । संसार नियाल्छु । गाउँघरमा हुने कार्यक्रमहरूमा जान मन लाग्छ । अरुले रमाइलो गरेको देख्दा आफ्नो मनले मान्दैन । दुहुँ क्षेत्रमा प्रख्यात सरौं नाच खेल्न, अरुले जस्तै मञ्चमा पुगेर गीत गाउन मन हुन्छ । गरिब परिवार समयमै उपचार गराउन आमा बुबाले सक्नुभएन । आर्थिक अभावले टाढाको अस्पताल नपुर्याउँदा अहिलेसम्म अपाङ्ग भएर जीउनु परेको छ । जीवनका आधा उमेर गयो । बाँकी जीवन चाँडो गए हुन्थ्यो झैँ लाग्छ ।’–उनले भने–‘त्यो बेला उपचार पाउन सकिएन । अहिले कसले उपचार गरिदिन्छ ?’ अहिले पनि राम्रो अस्पतालमा जान पाए नयाँ जीवन जिउने उनको आशा छ ।
‘सरकारले दिने २ हजार रुपियाँ भत्ता हो । उमेरले १६ वर्षको हुँदा ७० रुपियाँ भत्ता पाएको थिएँ । आमा बुबाले बोकेरै अपाङ्गता परिचय पत्र बनाउन खलङ्गा ल्याएका हुन् । त्यो बेला अपाङ्ग परिचय पत्र बनाउन पाँच दिन लागेको भट्ट सम्झछन् । राज्यबाट पाउनुपर्ने सेवा सुविधामा परिचय पत्र र नियमित भत्ता बाहेक अरु केही पाउन सकिएन ।’–उनले भने । आर्थिक वर्ष २०७५/०७६ मा व्यास गाउँपालिकाले १० हजार रुपियाँ सहयोग गर्यो ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को २९ मा पुनःस्थापनासम्बन्धी व्यवस्था गरेको छ । जसमा भनिएको छ–नेपाल सरकारले पूर्ण अशक्त, अति अशक्त, सहाराविहीन वा बौद्धिक अपाङ्गता भएका र मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई पुनस्र्थापना गर्ने उल्लेख छ ।
ऐनमा थप भनिएको छ–‘पुनर्स्थापना भन्नाले अपाङ्गता भएका व्यक्तिलाई समाजमा सक्रिय जीवन निर्वाह गर्न सक्षम हुने गरी प्रदान गरिने चिकित्सकीय सेवा, जीवन उपयोगी सीपमूलक तथा व्यवसायिक तालिम, सहायक सामग्री, औषधि उपचार, नियमित परामर्श सेवा, शैक्षिक तथा आर्थिक कार्यक्रम सम्झनुपर्छ र अपाङ्गता भएका व्यक्तिलाई बसोबासका लागि सञ्चालन गरिने आवास कार्यक्रमलाई समेत जनाउने छ ।’
तर, जन्मसिद्ध अपाङ्गता भएर जन्मिएका भट्टलाई राज्यले हालसम्म सामाजिक सुरक्षा अन्तर्गत नियमित पाउने भत्ताबाहेक अरु पाउन सकेका छैनन् ।