नेपाल पत्रकार महासङ्घ रूपन्देहीका सदस्य तथा बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत सैनामैना नपा–५ बक्सरका ३४ वर्षीय पत्रकार राज चौधरी (राजाराम)माथि कात्तिक २१ गते अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको छ ।
कार्यालयको काम सकेर घर फर्कने क्रममा बुटवल उमनपा–९ स्थित जागरण चोक नजिकै भैरव पथमा घेराबन्दी गरी कुटपिट गरेको भन्दै पीडितले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।
५-६ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूको समूहले गरेको कुटपिटबाट पीडित चौधरीको दायाँ हातमा चोट लागेको छ ।
घटनाका विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले कात्तिक २२ गते प्रेस विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको र घटनामा संलग्न जो सुकै भएपनि उम्कन नपाउने बताए ।