अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ स्थित मुस्लिम टोलकी ३६ वर्षीया बुलु खातुनको हत्या घटनाका दोषीको खोजी गरी कारवाही गर्न मृतकका पति इनुस मियाँले कात्तिक २१ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएका छन् ।
अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ जण्डौलस्थित पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ रहेको महुली खोलाको हेड ड्यामदेखि पश्चिम कुलोमा कात्तिक १६ गते शङ्कास्पद र सडेगलेको अवस्थामा खातुनको शव फेला परेको थियो । घटनास्थलबाट मोबाइल र हँसिया समेत फेला परेको प्रहरीले जनाएको छ ।
घाँस काट्न कात्तिक १२ गते घर बाहिर निस्किएकी खातुनलाई अपरिचित व्यक्तिले हत्या गरेको दावी गर्दै उनका पति इनुसले घटनाको वास्तविकता पत्ता लगाई दोषीहरु गिरफ्तार गर्न माग गरेको प्रहरीले जनाएको छ ।
घटना शङ्कास्पद देखिएकाले इलाका प्रहरी कार्यालय कञ्चनरुप र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोली कात्तिक १६ गतेदेखि नै घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाइए पनि घटना ताजा नभएकाले कुकुरको प्रयोग गरिएन ।
शवको पोष्टमार्टम बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १७ गते भएको प्रहरीले जनाएको छ । आरोपितको पहिचान हुन सकेको छैन ।
पोष्टमार्टम प्रतिवेदन आइनसकेको भन्दै इलाका प्रहरी कार्यालय, कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले बेपत्ता भएकै दिन हत्या भएको हुनसक्ने आशङ्का गर्दै अनुसन्धान भइरहेको बताए ।