मङ्सिर १४ गते हुने स्थानीय तहको उप निर्वाचनका लागि सङ्खवासभाका दुई स्थानीय तहमा तोकिएका ११ ओटा मतदानस्थलमध्ये सुरक्षा संवेदनशिलताको हिसाबले १० ओटा मतदानस्थललाई संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिले ती मतदान स्थललाई संवेदनशील मतदानस्थल भनी विश्लेषण गरेको हो ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालका अनुसार एक ओटा मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको छ ।
संवेदनशील मतदानस्थलमा ९ हजार १ सय जना मतदाता रहेका छन् भने १३ ओटा मतदान केन्द्र रहने छन् ।
सङ्खुवासभामा मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी नगरपालिका वडा–३ को वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ ।
उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ सय जना र खाँदबारी नगरपालिका वडा–३ मा १ हजार ८ सय २२ जना मतदाता रहेका छन् ।
मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको सिडिओ दुलालले बताए । सिडिओ दुलालले भने–‘संवेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गछौँ ।’
भौगोलिक विकटता, दलीय होडबाजी, दलीय विभाजनको वैमनस्यता र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनको भनाई छ ।