बढैयाताल गाउँपालिका–६ मैनापोखरकी ८० वर्षीया वृद्धा लक्ष्मीदेवी ठकुरीलाई ५० वर्षीय छोरा राजु हमालले कात्तिक २० गते घरबाट निकालेको पीडितले आरोप लगाएकी छन् ।
राजुले वृद्ध आमालाई खानलाउन नदिई उनको सामान लत्ता कपडा घरबाट बाहिर फालिदिएर घरबाट निकालेको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपाकुमारी गौतमले बताइन् ।
पीडित लक्ष्मीदेवीले छोराले खानलाउन नदिने गरेको र बिरामी हुँदा उपचार पनि नगरेको आरोप लगाएकी छन् ।
धेरै पहिलेदेखि कोठामा बस्न नदिएपछि घरको पालीमा खुल्ला ठाउँलाई पुरानो कपडाले बारेर चिसोमा बस्दै आएकी थिइन् ।
छोरा राजु हमालले भने आमाले भने जस्तो अवस्था नभएको र बाहिर गएर कुरा लगाउने मान्छे जम्मा गर्ने कार्यले दिक्क भएर रिस उठेर सामान कपडा फालिदिएको बताए ।
छोराले घरबाट निकाली दिएपछि बृद्धा घरकै पालीमा चिसो ठाउँमा बस्दै आएकी छन् । ‘अन्त जाने ठाउँ छैन । यही चिसोमा बसेको छु ।’–उनले भनिन् ।
उनलाई छोराले घरबाट निकालेको खबर सुनेपछि घटनास्थल गएर बुझ्दा महिला उक्त घरमा बस्ने अवस्था नभएको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक दिपाकुमारी गौतमले बताइन् ।
उपाध्यक्ष गौतमले महिलालाई सुरक्षित बृद्धा आश्रममा आश्रय दिनको लागि छलफल भइरहेको बताइन् । उनलाई घरैमा राख्ने वातावरण मिलाउनुको साटो आश्रममा पठाउन खोजेको भन्दै गाउँपालिकाको आलोचना हुन थालेको छ ।