३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले कात्तिक २० गते भरतपुर महानगरपालिका–१२ का विजय सुनार, भरतपुर मनपा–१२ का सागर गौतम बिक, भरतपुर मनापा– १२ कै निशान गुरुङ र भरतपुर मनपा–८ का सुजन पौडेललाई ११ वर्ष कैदसँगै १ लाख रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले न्यायाधीश अवनी मैनाली भटटराईको इजलासबाट उक्त फैसला भएको बताए ।
बलात्कार घटनामा ६-६ वर्ष कैद र सामूहिक बलात्कार भएकाले प्रत्येकलाई पुन ५-५ वर्ष थप भएको उनले बताए ।
आरोपितहरूमध्ये निशान गुरुङलाई थप एक महिना कैद र ७ हजार १ सय रुपियाँ जरिबाना गराउने समेत फैसला भएको छ । यस घटनामा चार जना संलग्न रहेकोमा सागर गौतम फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ ।
पीडित महिलालाई आरोपितहरूले ०७४ असोज ४ गते निशान गुरुङ र सागर गौतम बिकले म्याजिक भ्यानमा राखी जङ्गलतर्फ लगेर बलात्कार गरेको पीडित पक्षको आरोप थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितहरूलाई असोज ५ गते गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७४ असोज ८ गते भरतपुर अस्पतालमा गरिएको थियो ।