केन्द्रीय स्तरको भरतपुर अस्पतालको आइसीयू कक्षमा शैया अभावको कारण अस्पतालले दिने सेवा नै प्रभावित बनेको छ ।
कुल ६ सय शैयाको भरतपुर अस्पतालमा २० शैयाको आइसीयू कक्ष रहेको र आइसीयूका सबै शैयामा दैनिक बिरामी भरी भराउ रहने ठाउँमा दशैँ अघि देखि नै आइसीयू सफा गर्ने भन्दै अस्पतालले जम्मा १० वेड सञ्चालन गर्दै आउँदा आइसीयूमा भर्ना हुन आउने बिरामीहरूलाई अन्यत्रै पठाउनु पर्ने बाध्यता रहेको अस्पतालका मेसु डाक्टर श्रीराम तिवारीले बताए ।
तीन दिनमा सरसफाइको काम सकिएको उक्त अस्पतालमा हाल सम्मपनि आइसीयूका २० ओटा शैयामध्ये १० ओटा शैया मात्र सञ्चालनमा रहेका छन् ।
स्वास्थ्य उपचारमा अति नै विशिष्ट र संवेदनशील सेवा मानिने आइसीयूमा १० ओटा मात्र शैया सञ्चालनमा आउँदा गम्भिर प्रकृतिका बिरामीहरूलाई अन्यत्रै अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेसु डाक्टर श्रीराम तिवारीले बताए ।
२४ घण्टामा १२ जना डाक्टर अनिवार्य रहनु पर्ने अइसीयू कक्षमा जम्मा तीन जना डाक्टरले मात्र सेवा दिने गरेको मेसु डाक्टर तिवारीले बताए ।
सरकारी अस्पताल छाडेर निजी अस्पतालमा उपचार गराउने क्षमता नभएका बिरामीहरूलाई अस्पतालले दिनुपर्ने सेवा दिन नसक्दा सेवाग्राहीहरू मर्कामा परेको अस्पतालका सूचना अधिकारी लिलाराज पौडेलले बताए ।
अस्पताल समक्ष पटकपटकको अनुरोध पछि मात्र आइसीयू कक्षमा आफ्नो उपचार गरिएको चितवन कालिका नगरपालिका– ५ का ५० वर्षीय श्यामलाल चौधरीले बताए । उनले भने–‘अनेक सोर्स फोर्स लगाएर यही बस्यौँ ।’
मुटुसम्बन्धी समस्या लिएर आएका मनहरी गाउँपालिका–३ का ६५ वर्षीय सीताराम ब्लोनलाई अस्पतालले आइसीयू मै उपचार गराउँदै गर्दा इमेरजेन्सी बिरामी आएको भन्दै आइसीयूमा बस्ने समय समाप्त नहुँदै आफुलाई अचानक साधारण कक्षमा राखिदिएको बताए ।
भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख जिवनराम श्रेष्ठले आइसीयू कक्ष पुरा सञ्चालनमा नआएको बारे आफूलाई कुनै पनि जानकारी नभएको र यसबारे अनुसन्धान गरिने बताए ।