कञ्चनरुप नपा–१ बैरबाकी ४२ वर्षीया दुलारीदेवी पूर्वेलाई ५० वर्षीय जेठाजू शिवशङ्कर भनिने शङ्कर पूर्वे र उनकी पत्नी ४८ वर्षीया अनीतादेवी पूर्वेविरूद्ध कारवाहीका लागि सप्तरी जिल्ला अदालतमा कात्तिक २० गते घरेलु हिंसाको उजुरी दिएकी छिन् ।
कञ्चनरुप नपाको वडा नम्बर १ को वडा कार्यालय र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असोज ५ गते उजुरी दिए पनि कुनै कारवाही नभएपछि न्यायका लागि जिल्ला अदालतमा उजुरी दिएको पीडितले बताइन् ।
अंशवण्डा भई छिमेकमा बस्दै आएपनि आरोपितहरूले आफ्नो घरमा पुरुष नभएका कारण गालीगलौज र कुटपिट गर्दै आएको पीडितले बताइन् ।
वैदेशिक रोजगारका लागि पीडितका पति सुरेन्द्र पूर्वे कतारमा र छोरा सुरज पूर्वे भारतको सिलगढीमा रहेका छन् ।
दुई नाबालिका छोरीका साथ घरमा बसेकी पीडितलाई पटक–पटक गालीगलौज र कुटपिट गर्दै आएकोमा पछिल्लो पटक असोज ४ गते पीडित र उनकी छोरीहरूलाई कुटपिट गरी घाइते बनाएको जनाउँदै पीडितले साढे एक महिनासम्म स्थानीय तह र प्रहरीले कुनै कारवाही नगरेपछि अदालतमा उजुरी गरेको बताइन् ।