१४ वर्षीय बालकको अपरहण गरेको आरोपमा प्रहरीले पोखरिया नपा–६ सोनवारीका २० वर्षीय राजकुमार दासलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।
कात्तिक २० गते बिहान अपहरित बालकको बुवासँग फिरौती रकम लिएर भाग्न खोज्दा प्रहरीले गोली प्रहार गरी उनलाई गिरफ्तार गरेको हो ।
दासको दाहिने गोडाको घुँडामुनिको भागमा गोली लागेको छ । हाल उनको उपचार वीरगंजको नारायाणी अस्पतालमा भइरहेको छ ।
वीरगंज उमनपा–२५ सिर्सिया स्थायी घर भएर काभ्रेको बनेपामा बस्दै आएका अमजद खानको छोरालाई दासले अपहरण गरेका थिए ।
खानका १४ वर्षीय छोरा बनेपाबाट वीरगंजस्थित घर आउने क्रममा कात्तिक १० गते अपहरणमा परेका थिए ।
पीडित बालकले प्रयोग गर्ने मोबाइल प्रयोग गरेर आरोपितले फिरौतीका लागि १२ लाख रुपियाँ माग गरेका थिए । फिरौती रकम नदिए बालकको हत्या गर्ने सम्मको धम्की दिएको दिएको पीडितका बुबाअमजद खानले बताए ।
कात्तिक २० गते बिहान साढे १ बजे वीरगंज मनपा–२५ सिर्सियाको खलवाटोलमा फिरौती रकम लिन आरोपित आएका थिए ।
उनले पेस्तोल देखाई पैसाको झोला लिएर भाग्न खोज्दा नियन्त्रणमा लिन प्रहरीले गोली हान्नु परेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रहरीले अपहरित बालकको सकुशल उद्धार गरेको उनले बताए ।
प्रहरीले आरोपितको साथबाट भारतीय नम्बर प्लेटको प्लाटीना मोटरसाइकल, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने चार ओटा गोली र मोबाइल एक थान बरामद गरेको जनाएको छ ।