समायोजनपछि जिम्मेवारी तोकिएका चिकित्सक नआउँदा स्वास्थ्य सेवाबाट यहाँका सेवाग्राही बिरामी सेवाबाट वञ्चित भएका छन् ।
षडानन्द नगरपालिकामा एउटा प्राथामिक स्वास्थ्य केन्द्र र १३ ओटा स्वास्थ्य चौकी छन् । प्रथामिक स्वास्थ्य केन्द्र मुलपानीका मेडिकल अधिकृत समायोजनका कारण सरूवा भएर गएको तीन महिना बितेपनि उनको ठाउँमा दरबन्दी तोकिएका चिकित्सक आएका छैनन् ।
जसका कारण स्थानीय स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेका छन् । १३ ओटा स्वास्थ्य चौकीमध्ये चार ओटा स्वास्थ्य चौकीमा कर्मचारीको सङ्ख्या शून्य छ ।
एउटा स्वास्थ्य चौकीमा अहेव अथवा हेल्थ असिस्टेण्ट गरी चार जनाको दरवन्दी भएपनि सबै कर्मचारी सरूवा भएर गएपछि चार ओटा स्वास्थ्य चौकी चिकित्सविहीन भएका हुन ।
देऊराली, बोया, किमालुङ र कुदाकाँउले स्वास्थ्य चौकीमा चार महिनादेखि स्वास्थ्यकर्मी नभएका कारण अन्य स्वास्थ्य चौकीबाट एक÷एक जना कर्मचारी पठाएर सञ्चालन गरिरहेको षडानन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताए ।
संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेको छ । धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ ।
संविधानमा सो व्यवस्था भएपनि स्वास्थ्यकर्मी अभावका कारण षडानन्द नगरपालिकाका करिब १२ हजार नागरिक प्रथामिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।
स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा मौसमी रूघाखोकी र सामान्य चोटपटक लाग्दा समेत सङ्खुवासभा जानु पर्ने बाध्यता रहेको स्थानीय श्रीकृष्ण बोगटीको गुनासो छ ।
बोगटीले भने–‘यहाँबाट जिल्ला अस्पताल जान दुई दिन लाग्छ । त्यसको विकल्प सङ्खुवासभा अस्पताल हो । त्यहाँ जान पनि अरुणको सतीघाटमा पुल नहुँदा ज्यादै समस्या भोग्नु परेको छ ।’ उपचारका लागि अस्पताल लाने क्रममा कतिपयको मृत्यु बाटैमासमेत हुने गरेको बोगटीले सुनाए ।
जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाको नियमित स्वास्थ्य जाँचमा समेत समस्या हुने गरेको स्थानीय संकल्प राईको भनाई छ ।
उनले चिकित्सक अभाव मात्रै होइन्, गर्भ जाँच गर्ने कोठा सुरक्षित नहुँदासमेत समस्या भोग्नु परेको बताइन् ।
चिकित्सक अभावका कारण सेवा प्रवाहमा समस्या आएको र सुधारका लागि प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।
चिकित्सक परिपूर्तिका लागि प्रदेश १, सरकारलाई जानकारी गराएको र छिट्टै चिकित्सको व्यवस्था हुने आश्वासन आफूले पाएको षडानन्द नगरपालिकाका मेयर वीरवल राईले बताए ।