INSEC Online

📅 २०८३ जेष्ठ २१

१० वर्षदेखि एकजना राहत दरबन्दीको भरमा माध्यमिक विद्यालय

खाँडादेवी गाउँपालिकाको विष्णु जनज्वती मावि एक जना राहत दरबन्दीको मावि शिक्षकको भरमा सञ्चालनमा रहेको छ ।

दरबन्दी अनुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठन प्रभावित भएको हो । ५ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत सो विद्यालयमा कक्षा ९ र १० मा मात्रै ६७ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यपक प्रमोद केसीले बताए ।

अहिले कक्षा ९ मा ४२ जना र १० कक्षामा २५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । उनका अनुसार सो विद्यालयमा विगत १० वर्षदेखि एकजना मात्र माध्यामिक तहको शिक्षकको दरबन्दी रहेको छ ।

त्यो पनि राहात कोटाको दरबन्दी रहेको उनले बताए । दरबन्दी अनुसारका शिक्षक नहुँदा कक्षा व्यवस्थापनमा निक्कै समस्या भएको उनले बताए ।

२०६५ सालमा माध्यमिक तहको पठनपाठनको लागि अनुमति पाएको सो विद्यालयलमा तत्कालिन जिल्ला शिक्षा कार्यालयले २०६६ सालमा एकजना राहात कोटाको मावि शिक्षकको दरबन्दी पठाएको थियो ।

त्यसपछि थप दरबन्दी गएको छैन । सो विद्यालयमा निमावि तहमा पनि राहात कोटाका दुई ओटा मात्रै दरबन्दी छन् ।

विद्यालयले दुई जना निजी श्रोतबाट शिक्षकहरू राखेर र बाँकी निमावि र प्रावि तहका शिक्षकहरूमार्फत कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक केसीले बताए ।

पर्याप्त शिक्षकहरू नहुँदा पठनपाठन प्रभावित हुने गरेको कक्षा १० का छात्र शिवहरि रायले बताए । कक्षा ९ की छात्रा इमिता खत्री पनि पर्याप्त शिक्षक नहुँदा पढाइ प्रभावित हने गरेको बताउँछिन् । उनले विद्यालयमा शिक्षकहरूको उचित व्यवस्थापन गर्न माग समेत गरिन् ।

अन्य

भिडियो