INSEC Online

📅 २०८३ जेष्ठ २१

फौजी किरा पीडित कृषकहरूले राहात पाएनन्

फौजी किराको आक्रमणबाट बालिमा क्षति पुगेका रामेछापका किसानहरूले राहात पाएका छैनन् । राहातको लागि गाउँपालिकालगायतका निकायमा अनुरोध गर्दा पनि राहात नपाएको कृषकहरूको गुनासो छ ।

खाँडादेवी गाउँपालिकाको मझुवा, भिरपानी, राकाथुम, पकरबास लगायतका स्थानमा फौजी किराले मकै बालिमा ठूलो क्षति पुर्‍याएको थियो ।

त्यसैगरी रामेछाप नगरपालिकाको रामपुर, ओख्रेनी, रामेछाप, हिमगङ्गा, देउराली, साँघुटार, मन्थली नगरपालिकाको भलुवाजोर, मन्थली, कठजोर, सुनारपानी, लिखु तामाकोसीको खिम्ती, तिल्पुङलगायतका क्षेत्रको मकै बाली फौजी किराले नष्ट गरेको थियो ।

फौजी किराले क्षति पुर्‍याएपछि भदौमा मकै बाली नै भित्र्याउन नपाएको खाँडादेवी गाउँपालिका–२ का वडाअध्यक्ष समेत रहेका कृषक इन्द्रकुमार लामाले बताए ।

खाँडादेवी गाउँपालिकाका कृषक तथा वडा नं ३ का वडाअध्यक्ष पुष्कर कार्की पनि फौजी किराको आक्रमणबाट मकै लगायतको वर्षे बली पूर्ण रूपमा क्षति भएको बताउँछन् ।

किराले मकैका बोट नष्ट गरेपछि कृषकहरूले सो मकै मासेर फेीर मकै लगाएका भए पनि पुनः किराको आक्रमणबाट बाली नष्ट भएको उनले बताए ।

सो क्षेत्रको मुख्य बालीको रूपमा रहेको मकै बालमिा क्षति पुग्दा यस वर्ष खाद्य सङ्कट पर्ने उनी बताउँछन् । किराले बाली नष्ट बनाएपछि खाद्यान्नको व्यवस्था गर कृषकहरूलाई राहात दिन वडा नं ३ का २ सय ५० भन्दा बढी कृषकले सामूहिक रूपमा गाउँपालिका कार्यालयमा गई गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएको भए पनि कृषकहरूले राहात पाउन नसकेको उनले बताए ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ पनि फौजी किराको कारण यस वर्ष आफ्नो गाउँपालिकाका कृषकहरूको अन्न बालमिा ठूलो क्षति भएको बताउँछन् ।

किराले बालीमा आक्रमण गर्ने बित्तिकै कृषि शाखा तथा कृषि ज्ञान केन्द्रमा त्यसको नियन्त्रणको लागि आग्रह गरिएको भए पनि किरा नियन्त्रण गर्न हेलिकप्टबाट विषादि नछरी सम्भव नहुने बताएको र सो कार्य सम्भव नभएकोले नियन्त्रणको लागि काम गर्न नसकिएको उनी बताउँछन् ।

कृषकहरूको राहातका लागि केन्द्र र प्रदेश सरकारमा अनुरोध गरेको भए पनि त्यस विषयमा कुनै प्रतिक्रिया नआएको उनले बताए ।

रामेछाप नगरपालिकामा पनि किराले बालीमा ठूलो क्षति पुर्‍याएको छ । बारीमा वर्षामा मकैका विरूवाको गुवो खाएर नष्ट पारेपछि सो मकै मासेर फेरि मकै छरेको भएपनि अहिले पनि किराले मकैको बोट काटेर बारी नाङ्गै बनाएको रामेछाप नपा–८ का किसान हरिश्चन्द्र घिमिरेले बताए ।

नगरपालिका र कृषि शाखमा पटकपटक यस बारेमा जानकारी गराउँदा पनि कुनै चासो नदिएको उनको आरोप छ ।

फौजी किराले किसानहरूको बालीमा नराम्रोसँग नोक्सानी पुर्‍याएको रामेछाप नगरपालिका–५ रामपुरका वडाअध्यक्ष भिमबहादुर तमाङले बताए । किसानहरूलाई भएको क्षतिको क्षतिपूर्ति सहित खाद्यान्न व्यवस्था गर्नु पर्ने उनको माग छ ।

पहिलो पटक अमेरिकामा देखिएको फौजी किरा गतसाल भारतामा देखा परेको थियो । यस वर्ष नेपालमा देखा परेको सो किराले देश भरिनै कृषि बालिमा क्षति पुर्‍याएको छ ।

फौजी किरा एक खालको पुतलीले पार्ने फुलबाट निस्कने लार्भा हो । जसले सबैभन्दा बढी मकैको पात र गुभो खाएर बालिमा क्षति पुर्‍याउने गर्दछ ।

अन्य

भिडियो