हनुमाननगर कङ्कालिनी नपा–९ स्थित मामाघर आएकी मोरङको धनपालथान गाउँपालिका–५, दादरबैरियाकी आठ वर्षीया आँचल शर्माको अपहरण प्रयास गरेको आरोपमा प्रहरीले भारत विहार राज्यको सुपौल ग्राम बथनाहा–१८ का २० वर्षीय आनन्दकुमार गोसाई र सोही ग्रामको वडा नं ४ का १९ वर्षीय अनिलकुमार झालाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
घरपरिवारका सदस्यहरू श्राद्ध पूजा र भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरूले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला आरोपितहरूलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले बताए । बालिका हजुरबुबाको श्राद्धमा मामाघर आएकी थिइन् ।
साइकलमा चढाई बजारबाट एक किलोमिटर पश्चिम पुर्याएका बेला स्थानीयबासीले दुवैलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।
अपरिचित युवाहरूसँग गइरहेको देखेपछि शर्माको घर आएकी बालिकासँग सोधपुछ गर्दा बालिकाले नचिनेको बताएपछि स्थानीयवासीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बालिकाका मामा रबी शर्माले बताए ।
शर्माले भने– ‘हाम्रो भाग्य भनौँ वा दिन दह्रो रहेछ । गाउँलेहरूले बालिकालाई चिनेकाले शङ्का लागि सोधपुछ गर्दा अपहरण हुन पाएन ।’
चिया र बिस्कुट खान दिने भनेकाले उनीहरूसँग गएको बालिकाले बताइन् । आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए ।