बोदे बर्साइन नपा–४ पर्साहीकी १९ वर्षीया अम्बिकाकुमारी साहको हत्याको उजुरी कात्तिक ५ गते दिएपनि इलाका प्रहरी कार्यालय कडरबोनाले दर्ता नगरेको मृतकका बुबा शम्भुनाथ नपा–१२ कुशहाका ३९ वर्षीय चन्द्रकान्त साहले आरोप लगाएका छन् ।
सामाजिक परम्पराअनुसार ०७६ वैशाख २६ गते विवाहिता साहलाई उनका ३१ वर्षीय पति रामचन्द्र साह, २३ वर्षीय देवर रामप्रसाद साह र सासु ५१ वर्षीया किसनीदेवी साहले असोज १९ गते पासोमा झुण्ड्याई हत्या गरेको भन्दै चन्द्रकान्त साहले कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका छन् । आरोपित रामचन्द्र बाजुराको जगनाथ गाउँपालिका–१ स्थित सरस्वती मावि ढाडाकोटका शिक्षक हुन् ।
आरोपितहरूले थप दाइजो ४ लाख रुपियाँ माग्दै पटकपटक यातना दिएको, असोज १५ गते माग गरेकोमध्ये १ लाख रुपियाँ चेकमार्फत दिएको, असोज १८ गते पीडितलाई उनका पतिले शरिरभरी पेटिले कुटेको, असोज १८ गते उनका पतिले फोन गरी हत्या गर्ने धम्की दिएको, मृतकको शरीरमा गरगहना नरहेको, घाँटीमा निलडाम रहेको, केश तानिएको, पासो काटिएको हँसिया फेला नपरेकोले हत्या नै गरेको मृतकका बुवा चन्द्रकान्तले दावी गरेका छन् ।
सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी अम्बिकाको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असोज २० गते भयो । आरोपित रामचन्द्रले हत्या गरेको नभई पासो लगाई झुण्डिएकाले उपचारका क्रममा मृत्यु भएको बताए ।
इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपितहरू रामचन्द्र र रामप्रसादलाई असोज १९ गते गिरफ्तार गरी अभद्र व्यवहारको उजुरी दर्ता गरी कारवाही थालेको छ ।
आरोपितहरूलाई अभद्र व्यवहार मुद्दामा कारवाही थालेको जनाउँदै इन्स्पेक्टर रामराजा केशरीले हत्या सम्बन्धमा अनुसन्धान भइरहेको र पोष्टमार्टम प्रतिवेदन आएपछि हत्याको उजुरी दर्ता गर्ने वा नगर्ने निर्णय गरिने बताए ।