बोदे बर्साइन नपा–७ मानराजा बगबिराकी २५ वर्षीया राजोदवी यादवलाई ५८ वर्षीय पति बिष्णुदेव यादव, उनकी जेठी पत्नी ५५ वर्षीया उषादेवी यादव र बिष्णुदेवको दाजुको छोराबुहारी २८ वर्षीया ममतादेवी यादवलगायतले हत्या गरेको भन्दै मृतकका बुबा ५७ वर्षीय सत्यनारायण यादवले कात्तिक ६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका छन् ।
बिष्णुदेवले जेठी पत्नी उषादेवीतर्फ सन्तान नभएको र बिरामी भई पाठेघर समेत फ्याँकेकाले सन्तानका लागि बोदे बर्साइन नपा–८ रजैपट्टीकी राजोदेवीसँग सामाजिक परम्पराअनुसार २०६९ सालमा दोस्रो विवाह गरेका थिए । राजोदेवीतर्फ तीन वर्षीय छोरा छन् । आरोपित बिष्णुदेव खडग नगरपालिकास्थित फुलबरिया मावि शिक्षकका रूपमा कार्यरत छन् ।
विवाहको सात वर्ष बितेपनि राजोदेवीको विवाह दर्ता र नागरिकता नबनाइदिएका आरोपितहरूले राजोदेवीबाट जन्मेको सन्तानको आमाको नाममा उषादेवीको नाम राख्न खोजेपछि उनको जन्मदर्ता समेत बनेको छैन ।
सन्तानकै लागि विवाह गर्न स्विकृती दिएकी आरोपित उषादेवीले बालकको आमाको नाममा आफ्नो नाम हुनुपर्ने भनी दिएको दबाब राजोदेवीले नमान्दा दिनहुँ झगडा र विवाद हुँदै आएको मृतकका दाजु कुमार गोपालले बताए ।
छोराकै लागि आरोपितहरूले हातगोडा समाई जबरजस्ती विष खुवाएको र आफ्नो घर साढे एक किलोमिटरको दुरीमा रहेपनि राजोदबीको मृत्यु भएपछि मात्र जानकारी दिएको कुमार गोपालले बताए ।
सिरहाको लहान नपा–३ स्थित सप्तऋषी अस्पतालमा प्राथमिक उपचार पश्चात राजोदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा ०७६ असोज २६ गते राति २ बजे मृत्यु भएको थियो । शवको पोष्टमार्टम कोशी अस्पताल विराटनगरमा असोज २८ गते गरिएको थियो ।
आरोपित बिष्णुदेवले विषसेवन गरी राजोदेवीले आत्महत्या गरेको र उपचारको प्रयास गर्दागर्दै मृत्यु भएको बताए ।