भरतपुर अस्पतालको पोष्टमार्टम कक्षमा कार्यरत दुई जना कर्मचारीलाई अस्पतालमै रहेका प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कात्तिक ७ गते बिहानको समयमा अस्पतालमा कार्यरत भरतपुर मनपा–१२ बस्ने ४९ वर्षका देव आनन्द राई र अर्का कर्मचारी ६० वर्षीय पूर्ण बिकलाई कुटपिट गरेको पीडित पक्षको आरोप रहेको हो ।
प्रहरी हवल्दार जमिर अलिसेखको कुटाइबाट दुवै जना घाइते भएका हुन् । घाइते राईको ढाडमा निलडाम छ भने बिकको हात भाँचिएको उनले बताए ।
विहीबार बिहान ६५ वर्षीया एक महिलाको पोष्टमार्टम गर्ने क्रममा कानमा लगाएको गहना चोरी गरेको आरोपमा आफूहरूमाथि लाठीले कुटपिट गरेको घाइते राईले बताए ।
घाइते राईकी पत्नी पुनम राईले आफ्नै अगाडि प्रहरीले कुटपिट गरेको बताइन् । प्रहरीले नै कुटेको घटनामा न्याय माग्न कहाँ जाने भनी आफूहरू घरमै आराम गरेर बसेको उनले बताइन् ।
घाइते राई हिँड्न सक्ने अवस्थामा छैनन् । घटना भए पनि भरतपुर अस्पताल प्रशासनले कुनै चासो तथा खोजिविन नगरेको उनको भनाई छ ।
घटनाका आरोपित प्रहरी हवल्दार जमिर अलिसेखले चोरी भएको गहना खोज्ने क्रममा कुरा नखोलेपछि सोधपुछका क्रममा कुटपिट गरेको स्वीकार गरे ।
आफूहरूमाथि कुटपिट गर्ने प्रहरी हवल्दार अलिसेखविरूद्ध राई आफैँले ८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् ।
उजुरीमाथि छानविन गरि दोषीलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।
घाइते राईले कात्तिक ८ गते नै भरतपुर अस्पतालमा उपचार गराएका छन् । उनले घटनाको छानविनका लागि भन्दै सोही दिन अस्पतालमा पनि निवेदन दिएका छन् ।
निवेदन बुझेपछि अस्पतालका प्रशासक कृष्णप्रसाद गौतमले घटनाको अनुसन्धान गरी न्याय दिलाउने आश्वासन दिएका छन् ।
