INSEC Online

📅 २०८३ जेष्ठ २१

काठमाडौँ उपत्यकाका इँटा उद्योगमा मात्रै १३ हजारभन्दा बढी बालश्रमिक

काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७ सय १५ जना बालबालिका बालश्रममा रहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले र्सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन पारेर मन्त्रालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालमा बालबालिकाको स्थिति-२०७३ प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा बाल अधिकारका अन्य क्षेत्रमा केही प्रगति भएको देखिएपनि काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७ सय १५ जना र उपत्यकाबाहिर १४ हजार ६ सय १८ जना बालश्रमिक कार्यरत रहेको उल्लेख छ ।

सो प्रतिवेदन अनुसार नेपालमा हाल १ हजार ५ सय ३९ इँटा उद्योग छन् । नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गर्दै कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा बालबालिकालाई प्रयोग गर्न नपाइने व्यवस्था गरिएको भएपनि बालबालिका विभिन्न हिंसाबाट पीडित भइरहेका छन् ।

प्रतिवेदनमा उल्लेख भए अनुसार पाँच वर्षमुनिका बाल मृत्युदर प्रतिहजार ३८ रहेको, उमेरअनुसार उचाइ नपुगेका ३७ प्रतिशत, उमेर अनुसार तौल नपुगेका ११ प्रतिशत बालबालिका रहेका छन् । गतवर्षदेशभर ४२ लाख ६४ हजार ९ सय ४२ जना विद्यार्थी प्राथमिक तहमा भर्ना भएको तथ्याङ्क छ ।

कार्यक्रममा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले इतिहासको कठीन मोड पार गर्दै हालै जारी भएको नयाँ संविधानमा बालबालिकाको अधिकारको प्रष्ट व्यवस्था गरिएको चर्चागरे ।

राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य गौरी प्रधानले बालबालिकाको सरोकारको विषयलाई एकरूपतामा ल्याई समस्या समाधानतर्फलैजान विभिन्न सरोकारवाला संस्थाबीच सहयोगको आवश्यकता रहेको बताउँदै सरकारले निर्माण गर्ने नियम तथा कानुन बालबालिकाकेन्द्रित हुनुपर्ने औँल्याए ।

 

अन्य

भिडियो